पहिरोले कर्णालीका विभिन्न सडक अवरुद्ध

  • कालिका खवर
  • शनिबार, अशोज १०, २०८३
  • सुर्खेत । लगातारको वर्षासँगै पहिरो खस्दा कर्णाली प्रदेशका विभिन्न जिल्लाका सडक अवरुद्ध भएका छन् । मध्यपहाडी राजमार्ग, कर्णाली राजमार्ग, कर्णाली करिडोर, राप्ती राजमार्गसहित विभिन्न सडकखण्डमा पहिरो खसेपछि यातायात सेवा प्रभावित भएको हो ।

    रुकुमपश्चिमको सानीभेरी गाउँपालिकास्थित मध्यपहाडी राजमार्गको चाइना बगरदेखि सिस्नेखोलातर्फको भिरमा पहिरो खसेपछि सडक पूर्णरूपमा अवरुद्ध भएको छ ।

    सडक खुलाउन डिभिजन सडक कार्यालय चौरजहारीअन्तर्गतको मेसिन परिचालन गरिएको कार्यालय प्रमुख खुमबहादुर भण्डारीले बताए । उनका अनुसार करिब दुई घण्टामा सडक सञ्चालनमा ल्याउने लक्ष्य राखिएको छ ।

    कर्णाली राजमार्गअन्तर्गत कालिकोटको शुभकालिका गाउँपालिका–१ गगने खोलामा माथिबाट लेदोसहितको पहिरो खसेपछि सडक पूर्णरूपमा अवरुद्ध भएको कर्णाली प्रदेश प्रहरीले जनाएको छ ।

    यसैगरी, कर्णाली करिडोरअन्तर्गत हुम्लाको सर्केगाड–खच्चा क्षेत्रमा पहिरो गएपछि सडक बन्द भएको छ । मुगुको नाग्मा–गमगढी सडकखण्डअन्तर्गत रारा जाने मार्गको झारीखोलामा पहिरो खसेपछि यातायात अवरुद्ध भएको प्रहरीले जनाएको छ । जुम्लादेखि मुगुसम्मको सडकखण्डमा समेत पहिरोका कारण आवागमन प्रभावित भएको छ ।

    जाजरकोटको छेडागाड नगरपालिका–४ लेवाभीरस्थित छेडाथलह भित्री सडकखण्डमा माथिबाट ढुङ्गा र लेदोसहितको पहिरो खसेपछि सडक पूर्णरूपमा अवरुद्ध भएको छ ।

    राप्ती राजमार्गअन्तर्गत सल्यानको कपुरकोट गाउँपालिका–५ सारखोलामा समेत पहिरो खसेर सडक अवरुद्ध भएको छ ।

    लगातारको वर्षाका कारण पहाडी क्षेत्रमा पहिरो खस्ने क्रम बढेकाले यात्रु तथा सवारी चालकलाई सडकको अवस्था बुझेर मात्र यात्रा गर्न र सावधानी अपनाउन प्रहरीले आग्रह गरेको छ । अवरुद्ध सडक खुलाउन सम्बन्धित निकायले प्रयास गरिरहेको प्रदेश प्रहरी कार्यालयका प्रवक्ता सन्तोस सिंह राठोरले बताए ।

    प्रतिक्रिया दिनुहोस

    सम्बन्धित समाचार

    ताजा अपडेट

    © 2026 kalikakhabar.com All right reserved Site By : Kalika Khabar