फिल्म ‘पहाड’ को पहिलो गीत ‘मोहनी लगाउने’ सार्वजनिक

  • कालिका खवर
  • सोमवार, चैत्र ९, २०८२
  • काठमाडौं। तुलसी घिमिरेको निर्देशनमा तयार भएको फिल्म ‘पहाड’ को पहिलो गीत ‘मोहनी लगाउने’ सार्वजनिक गरिएको छ। कमलपोखरीस्थित एक हलमा आयोजित पत्रकार सम्मेलनमार्फत गीत सार्वजनिक गरिएको हो।

    गीतमा नव अभिनेत्री पञ्चमी घिमिरे र अरुण क्षेत्री फिचर्ड छन्। गीतमा निर्देशक घिमिरेकै शब्द, रञ्जित सिंह गजमेरको संगीत रहेको छ भने भारती घिमिरे, साकार आप्टे, मदनकृष्ण श्रेष्ठ र अश्मिता अधिकारीको स्वर समावेश छ। साथै विपिन कार्कीको र्‍याप पनि गीतमा सुन्न सकिन्छ। गीतको नृत्य निर्देशन कविराज गहतराजले गरेका हुन्।

    निर्देशक घिमिरेले केही वर्षपछि विशेष कथावस्तु छनोट गरेर फिल्म निर्माण गरेको बताउँदै यसमा मनोरञ्जनसँगै महत्वपूर्ण सन्देश रहेको बताए। “यो विषयलाई फिल्ममार्फत दर्शकसम्म पुर्‍याउनुपर्छ भन्ने लागेर निर्माण गरेको हुँ,” उनले भने।

    ग्रामीण परिवेशमा छायांकन गरिएको गीत नृत्यप्रधान र मिठासपूर्ण रहेको छ। गीतमार्फत ग्रामीण सौन्दर्य, युवाहरू विदेश पलायन हुनुपर्ने बाध्यता तथा गाउँको महत्त्वलाई उजागर गरिएको छ।

    कार्यक्रममा चलचित्र विकास बोर्डका अध्यक्ष दिनेश डिसीले निर्देशक घिमिरेको योगदानको प्रशंसा गर्दै उनको परिवारको समर्पण उल्लेख गरे। “तुलसी दाइको कथ्यशैली सधैं प्रशंसनीय छ, यो फिल्मबाट पनि धेरै आशा छ,” उनले भने।

    फिल्म आगामी नयाँ वर्ष २०८३ को वैशाख १ गते प्रदर्शन हुने तय गरिएको छ। फिल्ममा विदेश पलायनका कारण खाली हुँदै गएका पहाडी क्षेत्र र त्यसका सामाजिक–आर्थिक प्रभावलाई चित्रण गरिएको निर्देशक घिमिरेले जानकारी दिए।

    फिल्ममा सुनिल थापा, मदनकृष्ण श्रेष्ठ, रेनुनाथ योगी, रवीन्द्रसिंह बानियाँ, उमा गिरीलगायतका कलाकारको अभिनय रहेको छ। यसै फिल्ममार्फत निर्देशक घिमिरेले आफ्नी कान्छी छोरी पञ्चमीलाई अभिनेत्रीका रूपमा प्रस्तुत गरेका हुन्।

    फिल्मको छायांकन प्रमोद प्रधानले गरेका छन्। भाग्यरत्न फिल्म्स प्रालिको ब्यानरमा निर्माण भएको फिल्ममा रञ्जित सिंह गजमेर संगीत निर्देशक छन्।

    नेपालमा फिल्म वितरण वैङ्कटेश इन्टरटेनमेन्टले गर्नेछ भने विदेशमा सेभेन सिज इन्टरनेशनल फिल्म्सले वितरण गर्नेछ।

    प्रतिक्रिया दिनुहोस

    सम्बन्धित समाचार

    ताजा अपडेट

    © 2026 kalikakhabar.com All right reserved Site By : Kalika Khabar