फागुन ६–८ गते भृकुटीमण्डपमा ‘नवौं नेपाल एग्रीटेक इन्टरनेशनल एक्स्पो’ हुँदै

  • कालिका खवर
  • सोमवार, साउन ४, २०८३
  • कृषि प्रविधि, आधुनिक उपकरण र नवप्रवर्तन एकै थलोमा; सबैका लागि निःशुल्क प्रवेश

    काठमाडौं । कृषि क्षेत्रको आधुनिकीकरण, यान्त्रीकीकरण तथा नवीन प्रविधिको प्रवर्द्धन गर्ने उद्देश्यसहित ‘नवौं नेपाल एग्रीटेक इन्टरनेशनल एक्स्पो’ आगामी फागुन ६ देखि ८ गतेसम्म काठमाडौंको भृकुटीमण्डप मा आयोजना हुने भएको छ।

    मिडिया स्पेस सोलुसन्स प्रा.लि. र फ्युचरेक्स ट्रेड फेयर्स एण्ड इभेन्ट्स् प्रा.लि.को संयुक्त आयोजनामा हुने उक्त अन्तर्राष्ट्रिय एक्स्पोमा नेपालका कृषि उद्यमी, व्यवसायी तथा विदेशी कम्पनीहरूको सहभागिता रहने आयोजकले जनाएको छ।

    एक्स्पोमा देशभरका अगुवा किसान, कृषक समूह, गाउँपालिका तथा नगरपालिकाका प्रतिनिधि, नीति निर्माता, उद्यमी, व्यापारी, आयातकर्ता, निर्यातकर्ता, सरकारी तथा गैरसरकारी संस्थाका प्रतिनिधि, बैंक तथा वित्तीय संस्था, अनुसन्धानकर्ता, शिक्षक तथा विद्यार्थीहरूको उल्लेखनीय सहभागिता रहने अपेक्षा गरिएको छ।

    आयोजकका अनुसार प्रदर्शनीमा कृषि कर्मलाई सहज, आधुनिक र किफायती बनाउने साना औजारदेखि अत्याधुनिक कृषि मेसिन, डेरी मेसिनरी, पशुपन्छीपालनमा प्रयोग हुने उपकरण, भेटेनरी प्रविधि तथा खाद्य प्रविधिसम्बन्धी नवीनतम उत्पादन र सेवाहरू प्रदर्शन गरिनेछ।

    एक्स्पोले नेपालको कृषि क्षेत्रको यान्त्रीकीकरणलाई गति दिने, आधुनिक प्रविधिको पहुँच विस्तार गर्ने तथा उत्पादन वृद्धि र कृषि आत्मनिर्भरताको लक्ष्य हासिल गर्न महत्वपूर्ण योगदान पुग्ने विश्वास आयोजकको छ।

    प्रदर्शनीमा कुखुरापालन, माछापालन, बाख्रापालन, गाई–भैंसी पालन, डेरी, कृषि मेसिनरी, उपकरण, भेटेनरी तथा खाद्य प्रविधि लगायतका विभिन्न विधाका छुट्टाछुट्टै समूहगत स्टल रहनेछन्। अवलोकनकर्ताले आफ्नो आवश्यकता र रुचिअनुसार सम्बन्धित स्टलमा पुगेर प्रत्यक्ष जानकारी तथा परामर्श लिन सक्ने व्यवस्था मिलाइनेछ।

    आयोजकले एक्स्पोमा सबैका लागि निःशुल्क प्रवेशको व्यवस्था गरिएको जनाएको छ। आधुनिक कृषि प्रविधि, सेवा तथा नवप्रवर्तनबारे जानकारी लिन चाहने किसान, उद्यमी र सर्वसाधारणका लागि यो एक्स्पो महत्वपूर्ण अवसर बन्ने विश्वास गरिएको छ।

    प्रतिक्रिया दिनुहोस

    सम्बन्धित समाचार

    ताजा अपडेट

    © 2026 kalikakhabar.com All right reserved Site By : Kalika Khabar