पेरिसको लुभ्र म्युजियमबाट बहुमूल्य ताज र गहना चोरी प्रकरण, दुई जना पक्राउ

  • कालिका खवर
  • सोमवार, कार्तिक १०, २०८२
  • पेरिस । फ्रान्सेली सञ्चारमाध्यमका अनुसार पेरिसको लुभ्र म्युजियमबाट बहुमूल्य ताज गहना चोरी गरेको आरोपमा दुई जना शङ्कास्पद व्यक्ति पक्राउ परेका छन् । पेरिस अभियोजकको कार्यालयले दिएको जानकारीअनुसार तीमध्ये एक जनालाई चार्ल्स दे गल विमानस्थलबाट विदेश उड्ने तयारी गरिरहेको बेला पक्राउ गरिएको थियो ।

    गत आइतबार दिउँसो चार जना चोरहरूले अत्याधुनिक उपकरण प्रयोग गरी विश्वको सबैभन्दा धेरै पर्यटक आउने यस सङ्ग्रहालयबाट ८८ मिलियन युरो मूल्य बराबरका सामानहरू चोरी गरेका थिए । फ्रान्सका न्यायमन्त्रीले सुरक्षा प्रोटोकलहरू ‘असफल’ भएको र देशको ‘खराब छवि’ बनेको स्वीकार गरेका छन् ।

    पेरिस अभियोजकको कार्यालयले शनिबार साँझ पक्राउ गरिएको जनाए पनि कति जनालाई नियन्त्रणमा लिइयो भन्ने खुलाएको छैन । फ्रान्सेली सञ्चारमाध्यमका अनुसार प्रहरी स्रोतले दिएको जानकारीमा एक शङ्कास्पद व्यक्ति अल्जेरिया र अर्को माली जाने तयारीमा थिए । विशेषज्ञ प्रहरीले उनीहरूलाई ९६ घण्टासम्म हिरासतमा राखेर सोधपुछ गर्न सक्नेछन् ।

    आइतबार फ्रान्सेली सञ्चारमाध्यममा आएका रिपोर्टहरूका अनुसार चोरी भएको स्थानमा फेला परेको डीएनएका आधारमा एक शङ्कास्पद व्यक्तिलाई पहिचान गरिएको थियो । चोरहरूले पञ्जा र हाई–भिज ज्याकेट लगायतका केही सामान घटनास्थलमै छोडेका थिए । यसअघि उनीहरूले नेपोलियन तृतीयकी पत्नी महारानी युजेनीको ताज पनि छाडेर गएको बताइएको थियो ।

    पेरिस अभियोजकले यस मुद्दामा सम्बन्धित जानकारी समयपूर्व खुलासा गरिएकोमा आलोचना गर्दै त्यसले गहना फिर्ता गर्न र चोरहरूलाई पत्ता लगाउने प्रयासमा बाधा पुर्‍याएको उल्लेख गरेका छन् । चोरहरू सङ्ग्रहालय आगन्तुकहरूका लागि खुल्नेबित्तिकै स्थानीय समयअनुसार बिहान ९:३० बजे आइपुगेको बताइएको छ । शङ्कास्पद व्यक्तिहरू सेन नदी नजिकको एक बालकनी हुँदै ग्यालरी डी अपोलोनमा प्रवेश गर्नका लागि गाडीमा जडान गरिएको यान्त्रिक लिफ्ट लिएर आएका थिए । घटनास्थलका तस्बिरहरूमा पहिलो तल्लाको झ्यालसम्म भर्‍याङ पुर्याइएको देखिएको थियो ।

    प्रतिक्रिया दिनुहोस

    सम्बन्धित समाचार

    ताजा अपडेट

    © 2026 kalikakhabar.com All right reserved Site By : Kalika Khabar