प्रधान सेनापति राष्ट्रिय खुला टेनिसको उपाधि प्रदीप र सिभालीको पोल्टामा, आर्मी क्लब च्याम्पियन

  • कालिका खवर
  • बुधबार, जेष्ठ १३, २०८३
  • ललितपुर –चौथो प्रधान सेनापति राष्ट्रिय खुला टेनिस प्रतियोगिता–२०८३ को उपाधि प्रदीप खड्का र सिभाली गुरुङले जितेका छन् । पुरुष एकलमा खड्का तथा महिला एकलमा गुरुङले उपाधि जितेका हुन् ।

    नेपाली सेनाको आयोजना तथा नेपाल टेनिस सङ्घको प्राविधिक सहयोगमा सञ्चालित प्रतियोगितामा त्रिभुवन आर्मी क्लब ‘च्याम्पियन’ भएको छ ।

    भद्रकाली स्थित जङ्गी अड्डामा आयोजित समापन समारोहमा प्रधान सेनापति अशोकराज सिग्देलले प्रतियोगितामा ‘च्याम्पियन’ हुने त्रिभुवन आर्मी क्लब, पुरुष एकल तथा महिला एकल प्रतियोगिताका विजेतालाई ट्रफी र प्रमाणपत्र प्रदान गरे ।

    यसैगरी सो प्रतियोगिताअन्तर्गत विभिन्न विधामा उत्कृष्ट हुने खेलाडीहरूलाई पनि सो समारोहमा पुरस्कार वितरण गरिएको थियो । यही जेठ ४ गतेबाट सुरु भएको उक्त प्रतियोगिता जङ्गी अड्डा र दशरथ रङ्गशालास्थित टेनिस कोर्टमा सञ्चालन भएको थियो ।

    प्रतियोगितामा १२ वटा क्लबका २ सय २३ जना खेलाडीले १३ वटा विधाका खेलमा प्रतिस्पर्धा गरेका थिए । जसमा २ सय १२ पुरुष र ११ महिलाले भाग लिएका थिए । अघिल्लो वर्ष १ सय ९६ जनाले प्रतिस्पर्धा गरेका थिए ।

    टेनिस खेलको विकासमा सहयोग पु¥याउने उद्देश्यले २०७८ देखि सञ्चालन हुँदै आएको प्रतियोगितामा खुलातर्फ पुरुष एकल तथा युगल, महिला एकल तथा युगल विधा समावेश गरिएको थियो । त्यस्तै, भेट्रान्सतर्फ ३५ वर्षमाथि, ४५ वर्षमाथि, ५५ वर्षमाथि र ६५ वर्षमाथिका एकल तथा युगल विधा तथा ७० वर्षमाथिको एकल विधामा प्रतिस्पर्धा भएको नेपाली सेनाले जनाएको छ ।

    टेनिस खेल विधालाई तहगत रुपबाटै संचालन गरी उत्कृष्ट टेनिस खेलाडी उत्पादन गर्ने उदेश्यका साथ मकवानपुर टेनिस संघको आयोजना तथा नेपाली सेनाको सहयोगमा २०६८ सालबाट सामरी स्ल्याम टेनिस प्रतियोगिता संचालन भई सातौँ संस्करण २०७४ सालमा सम्पन्न भएको थियो ।

    यही प्रतियोगितालाई निरन्तरता दिने उदेश्यले नेपाल टेनिस संघको प्राविधिक सहयोगमा २०७८ सालमा मंसिर २७ गतेदेखि पुष ५ गतेसम्म पहिलोपटक प्रधानसेनापति राष्ट्रिय खुला टेनिस प्रतियोगिता सुरुवात गरिएको थियो ।

    प्रतिक्रिया दिनुहोस

    सम्बन्धित समाचार

    ताजा अपडेट

    © 2026 kalikakhabar.com All right reserved Site By : Kalika Khabar