नगरसभा विशेष अधिवेशन : पुनर्निर्माणलाई प्राथमिकता, शहीद असहाब आलमका परिवारलाई ५ लाख सहयोग

  • कालिका खवर
  • शनिबार, अशोज ४, २०८२
  • बीरगंज, असोज ४। जेनजी आन्दोलनका क्रममा अराजक समूहले गरेको तोडफोड र आगजनीबाट ध्वस्त भएका भौतिक संरचनाको पुनर्निर्माणका लागि वीरगन्ज महानगरपालिकाले चालू आर्थिक वर्षको बजेट संशोधन गर्ने निर्णय गरेको छ।

    शनिबार नगरसभा गृहमा सम्पन्न १८औं विशेष अधिवेशन (विशेष नगरसभा) ले चालू आर्थिक वर्ष २०८२/८३ का लागि विनियोजन गरिएको बजेटलाई संशोधन गरी पुनर्निर्माणमा खर्च गर्ने प्रस्ताव सर्वसम्मत पारित गरेको हो। प्रस्ताव मेयर राजेशमान सिंहद्वारा पेश भएको थियो भने नगरसभाले प्रमुख प्रशासकीय अधिकृत (प्रशाअ) अरबिन्दलाल कर्णमार्फत निर्णयको जानकारी दिएको हो।

    गत भदौ ३१ गते बसेको कार्यपालिका बैठकपछि सार्वजनिक गरिएको विवरणअनुसार, जेनजी आन्दोलनका क्रममा अराजक समूहले महानगरपालिकाको कार्यालय भवनसहित गाडी र अन्य संरचना तोडफोड, आगजनी तथा लुटपाट गर्दा करिब १ अर्ब १५ करोड रुपैयाँभन्दा बढीको क्षति पुगेको थियो।

    महानगरको सम्पत्ति खरानी बनेपछि सेवा प्रवाहमा निरन्तरता दिन पुनर्निर्माणलाई प्राथमिकतामा राख्नुपर्ने आवश्यकता औंल्याउँदै शनिबारको विशेष नगरसभाले तत्काल बजेट संशोधन गरेर पुनर्निर्माणतर्फ खर्च गर्ने निर्णय गरेको हो।

    यसअघि १७औं नगर परिषदले चालू आर्थिक वर्षका लागि ३ अर्ब २२ करोड ४८ लाख ४९ हजार रुपैयाँको बजेट ल्याएको थियो। तर अब नगरस्तरीय पुँजीगत योजना र सामाजिक विकास कार्यक्रमका रकमलाई पुनर्निर्माणतर्फ स्थानान्तरण गर्ने निर्णय भएको प्रशाअ कर्णले जानकारी दिए। उनका अनुसार, विकासे योजनाहरूलाई स्थगित गरेर कार्यपालिका बैठकमार्फत पुनर्निर्माणका कार्यहरूलाई प्राथमिकतामा राखी अघि बढाइनेछ।

    त्यसैगरी, विशेष नगरसभाले आन्दोलनका क्रममा काठमाडौंमा प्रदर्शनकै क्रममा प्रहरीको गोली लागी शहादत प्राप्त गरेका वीरगन्ज महानगरपालिका–१२ का युवा असहाब आलमको परिवारलाई ५ लाख रुपैयाँ सहयोग उपलब्ध गराउने निर्णय पनि गरेको छ।

    प्रतिक्रिया दिनुहोस

    सम्बन्धित समाचार

    ताजा अपडेट

    © 2026 kalikakhabar.com All right reserved Site By : Kalika Khabar