कलैयाका तत्कालीन डिभिजन प्रमुखसहित चार जनाविरुद्ध भ्रष्टाचार मुद्दा दायर

  • कालिका खवर
  • सोमवार, मंसिर १, २०८२
  • काठमाडौँ । खानेपानी तथा सरसफाइ डिभिजन कार्यालय, डिभिजन नं. ४ कलैया, बाराका तत्कालीन निमित्त डिभिजन प्रमुख किशोरीप्रसाद यादवसहित चार जनाविरुद्ध अख्तियार दुरुपयोग अनुसन्धान आयोगले भ्रष्टाचार मुद्दा दायर गरेको छ।

    आयोगका प्रवक्ता राजेन्द्रकुमार पौडेलका अनुसार आर्थिक वर्ष २०७९/८० मा बारा जिल्लाभित्र विभिन्न निर्माण कार्यका लागि आह्वान गरिनुपर्ने २३ वटा बोलपत्र सूचनालाई सार्वजनिक खरिद ऐन, २०६३ को दफा १४(१) बमोजिम राष्ट्रियस्तरको दैनिक पत्रिकामा प्रकाशन गर्नुपर्ने थियो। तर सो प्रक्रिया नअपनाई प्रमुख यादव, लेखापाल प्रदिप दास, सान्दर्भिक मिडिया नेटवर्क प्रालिका प्रबन्धक निसान्त सिग्देल र प्रभाव दैनिकका बजार प्रबन्धक सन्तोषराज खरेलबीच मिलेमतोमा गैरकानुनी लाभ लिन खोजिएको आयोगको भनाइ छ।

    आयोगका अनुसार बोलपत्र आह्वानको सूचना लुकाएर “प्रभाव दैनिक” को एक मात्र प्रति बनाएर २०७९ फागुन २१ गतेको मितिमा डिभिजन कार्यालय कलैयामा पेश गरिएको र सार्वजनिक वितरणका लागि प्रकाशन नै नगरिएको पाइयो। यसरी सूचना छिपाउँदै ठेक्का प्रक्रियामा हस्तक्षेप गर्ने दुषित नियत स्पष्ट भएको आयोगको विज्ञप्तिमा उल्लेख गरिएको छ।

    यसबाहेक सार्वजनिक नबनाइएका पत्रिकाको झुट्टा बिल–भरपाई आधारमा तीन लाख १६ हजार ५७० रुपैयाँ (अग्रिम करबाहेक) सान्दर्भिक मिडिया नेटवर्क प्रालिलाई भुक्तानी गरिएको तथ्य फेला परेको आयोगले जनाएको छ। साथै सो नेटवर्कको बैंक खाताबाट ५० हजार रुपैयाँ प्रभाव दैनिकका बजार प्रबन्धक सन्तोषराज खरेलले निकालेको पनि ठहर गरिएको छ।

    आयोगले भ्रष्टाचार निवारण ऐन, २०५९ को दफा ८ बमोजिम तीन लाख १६ हजार ५७० रुपैयाँ बिगो कायम गर्दै चारै जनामाथि कैद र जरिवानाको मागदाबीसहित आइतबार विशेष अदालत, काठमाडौँमा आरोपपत्र दायर गरेको जनाएको छ।

    प्रतिक्रिया दिनुहोस

    सम्बन्धित समाचार

    ताजा अपडेट

    © 2026 kalikakhabar.com All right reserved Site By : Kalika Khabar