कक्षा १ देखि ५ सम्म अब आन्तरिक र त्रैमासिक परीक्षा नलिन निर्देशन

  • कालिका खवर
  • मङ्लबार, साउन २६, २०८३
  • काठमाडौं । देशभरका सामुदायिक तथा संस्थागत विद्यालयमा कक्षा १ देखि ५ सम्म अध्ययनरत विद्यार्थीको आन्तरिक तथा त्रैमासिक परीक्षा सञ्चालन नगर्न निर्देशन दिइएको छ।

    सरकारको पछिल्लो निर्णय कार्यान्वयन गर्दै जिल्ला शिक्षा विकास तथा समन्वय एकाइहरूले सम्बन्धित विद्यालयहरूलाई कक्षा ५ सम्मको परम्परागत परीक्षा प्रणाली अन्त्य गर्न निर्देशन दिएका हुन्। बालबालिकामा परीक्षाका कारण उत्पन्न हुने मानसिक तथा मनोवैज्ञानिक दबाब कम गर्दै सिकाइलाई थप प्रभावकारी र बालमैत्री बनाउने उद्देश्यले यस्तो व्यवस्था लागू गर्न लागिएको जनाइएको छ।

    मन्त्रिपरिषद्को २०८२ चैत १३ गतेको बैठकबाट स्वीकृत ‘शासकीय सुधार सम्बन्धी १०० कार्यसूची’को बुँदा नम्बर ८९ अनुसार आगामी शैक्षिक सत्रदेखि आधारभूत तहअन्तर्गत कक्षा १ देखि ५ सम्म लिइँदै आएका आन्तरिक तथा त्रैमासिक परीक्षा बन्द गर्ने निर्णय भएको हो।

    सरकारी निर्णय कार्यान्वयनका लागि निर्देशन जारी भइसके पनि कतिपय विद्यालयले अझै पुरानै शैलीमा त्रैमासिक तथा आन्तरिक परीक्षा सञ्चालन गरिरहेको पाइएपछि सम्बन्धित शिक्षा विकास तथा समन्वय एकाइहरूले विद्यालयहरूलाई लिखित रूपमा सचेत गराएका छन्।

    अब विद्यार्थीको मूल्यांकन कसरी हुन्छ?

    नयाँ व्यवस्थाअनुसार विद्यार्थीको मूल्यांकन ‘विद्यार्थी मूल्यांकन मार्गदर्शन, २०८३’ बमोजिम गरिनेछ। अब विद्यार्थीको सिकाइ उपलब्धिलाई परीक्षामा प्राप्त अंकमा मात्र सीमित नगरी उनीहरूको व्यवहार, सिर्जनशीलता, सहभागिता, सीप तथा निरन्तर सिकाइ प्रक्रियालाई समेत आधार बनाइनेछ।

    विद्यार्थीको वास्तविक सिकाइ उपलब्धि पहिचान गर्न विभिन्न सूचक, मापदण्ड, मूल्यांकन विधि तथा साधन प्रयोग गर्न विद्यालयहरूलाई निर्देशन दिइएको छ।

    यस व्यवस्थाले साना बालबालिकालाई परीक्षाको अनावश्यक दबाबबाट मुक्त गर्दै पढाइलाई अंकमुखीभन्दा सिकाइमुखी र बालमैत्री बनाउने अपेक्षा गरिएको छ।

    सरकारको निर्णय प्रभावकारी रूपमा कार्यान्वयन गर्न स्थानीय तहहरूलाई समेत आवश्यक सहयोग, समन्वय तथा सहजीकरण गर्न आग्रह गरिएको छ।

     

    प्रतिक्रिया दिनुहोस

    सम्बन्धित समाचार

    ताजा अपडेट

    © 2026 kalikakhabar.com All right reserved Site By : Kalika Khabar