खाद्य विभागको बजार अनुगमन : पवन स्वीट्ससहित चार खाद्य व्यवसायलाई निर्देशन, भाटभटेनीबाट नमुना संकलन

  • कालिका खवर
  • बिहिबार, साउन २१, २०८३
  • काठमाडौं । खाद्य प्रविधि तथा गुण नियन्त्रण विभागले काठमाडौंका विभिन्न खाद्य व्यवसायमा गरेको बजार अनुगमनका क्रममा खाद्य स्वच्छता तथा गुणस्तरसम्बन्धी कमजोरी भेटिएपछि सुधारका लागि निर्देशन दिएको छ। विभागले खाद्य स्वच्छता तथा गुणस्तर ऐन, २०८१ अनुसार अनुगमन गरी आवश्यक कारबाही गरेको जनाएको छ।

    विभागका अनुसार साउन १९ गते काठमाडौं महानगरपालिका–७ स्थित पवन स्वीट्स प्रा.लि. मा गरिएको अनुगमनका क्रममा भान्सामा खाद्य पदार्थ पत्रपत्रिकाले छोपेर राखिएको, कीट नियन्त्रण प्रभावकारी रूपमा नगरिएको तथा ढक्कनबिनाको फोहोरदानी प्रयोग गरिएको पाइएको थियो। यद्यपि भान्साको सरसफाइ भने सन्तोषजनक रहेको विभागले जनाएको छ।

    उक्त व्यवसायलाई खाद्य स्वच्छता कायम गरी सञ्चालन गर्न, खाद्य पदार्थ पत्रपत्रिकाले नछोप्न, नियमित रूपमा प्रभावकारी कीट नियन्त्रण गर्न तथा ढक्कन भएको फोहोरदानी प्रयोग गर्न निर्देशन दिइएको छ।

    त्यसैगरी, विभागले प्राप्त गुनासोका आधारमा साउन २० गते काठमाडौं महानगरपालिकासहितको संयुक्त टोलीले आकस्मिक अनुगमन गरेको थियो। अनुगमनका क्रममा सुदूर पश्चिम चमेना गृहद्वारा सञ्चालित कान्ति छात्रावास, त्रिभुवन विश्वविद्यालय मा भान्सा तथा भाँडा माझ्ने स्थान फोहोर रहेको, पकाइएको खाना खुला अवस्थामा राखिएको तथा कच्चा पदार्थ स्वच्छ ढंगले भण्डारण नगरिएको पाइएको विभागले जनाएको छ। यद्यपि उजुरीमा उल्लेख भएअनुसार भण्डारण स्थलमा सोडा वा कमसल कच्चा पदार्थ भने फेला नपरेको विभागको भनाइ छ। उक्त चमेना गृहलाई सात दिनभित्र सुधार गरी विभागलाई जानकारी गराउन निर्देशन दिइएको छ।

    यस्तै, मेगा मार्ट प्रा.लि., कीर्तिपुर–९ मा गरिएको अनुगमनमा बिक्री भइरहेको अण्डा हिमालयन एग्स एन्ड मिट प्रा.लि. र सुबिस पोल्ट्री मार्केट प्रा.लिबाट खरिद गरिएको पाइएको छ। परीक्षणका क्रममा अण्डा प्लास्टिक वा कृत्रिम नभएको पुष्टि भएको विभागले जनाएको छ। मार्टलाई स्वच्छता र सरसफाइमा विशेष ध्यान दिन निर्देशन दिइएको छ।

    त्यसैगरी भाटभटेनी सुपर मार्केट एण्ड डिपार्टमेन्टल स्टोर, त्रिपुरेश्वर मा सरसफाइ सामान्य अवस्थामा रहेको पाइएको भए पनि थप अनुसन्धानका लागि खाद्य पदार्थको नमुना संकलन गरी प्रयोगशाला परीक्षणका लागि पठाइएको विभागले जनाएको छ।

    विभागका अनुसार साउन १९ गते एक र साउन २० गते तीन गरी कुल चार खाद्य व्यवसायमा अनुगमन गरिएको हो। विभागले उपभोक्ताको स्वास्थ्य सुरक्षालाई प्राथमिकतामा राख्दै बजार अनुगमनलाई निरन्तरता दिने जनाएको छ।

    प्रतिक्रिया दिनुहोस

    सम्बन्धित समाचार

    ताजा अपडेट

    © 2026 kalikakhabar.com All right reserved Site By : Kalika Khabar