काठमाडौं ९ मा एमालेको ह्याट्रिक सम्भावना बलियो, अजयक्रान्ति शाक्यको माहोल अगाडि

  • कालिका खवर
  • बिहिबार, फाल्गुन १४, २०८२
  • काठमाडौँ । काठमाडौँ क्षेत्र नम्बर–९ मा आसन्न प्रतिनिधिसभा निर्वाचन नजिकिँदै गर्दा मतदाताको मनस्थिति स्पष्ट हुँदै गएको देखिन्छ । फागुन २१ गते हुने निर्वाचनमा कसलाई रोज्ने भन्ने विषयमा अधिकांश मतदाताले झण्डै निर्णय गरिसकेको स्थानीय तहमा गरिएको संवाद र सर्वेक्षणले देखाएको छ ।

    काठमाडौँ महानगरपालिकाका वडा नम्बर १२, १४, २१ र २२ तथा नागार्जुन नगरपालिकाका ६, ७, ८, ९ र १० र चन्द्रागिरि नगरपालिकाका १, १२, १३, १४ र १५ वडा समेटिएको यो क्षेत्रमा यसपटक २४ जना उम्मेदवार चुनावी मैदानमा छन् । दलीयतर्फ १८ र स्वतन्त्रतर्फ ६ जना उम्मेदवार प्रतिस्पर्धामा छन् । यद्यपि मुख्य प्रतिस्पर्धा नेकपा (एमाले), नेपाली कांग्रेस, राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) र नेपाल कम्युनिष्ट पार्टीका उम्मेदवारबीच केन्द्रित देखिन्छ ।

    स्थानीय मतदातासँग गरिएको कुराकानीमा अन्य दलको तुलनामा एमालेप्रति आशा र भरोसा बढी रहेको देखिएको छ । २०७४ र २०७९ सालको निर्वाचनमा यही क्षेत्रबाट एमालेले निरन्तर जित हासिल गरेको इतिहासले पनि मतदाताको मनोविज्ञानमा प्रभाव पारेको स्थानीयको भनाइ छ ।

    यसपटक एमालेले शालीन, बौद्धिक र विकासप्रेमी नेताका रूपमा चिनिनु भएका अजयक्रान्ति शाक्यलाई उम्मेदवार बनाएको छ । मतदाताहरूका अनुसार शाक्यले अघिल्ला कार्यकालमा विकास निर्माण, संस्कृति र सम्पदा संरक्षणमा खेलेको भूमिकाले उहाँप्रति भरोसा अझै बलियो बनाएको छ ।

    लगन टोलका एक मतदाताले भने, “नयाँ भन्ने नारा धेरै आयो, तर एजेन्डाले मन छोएन । अहिलेसम्म अरु दलभन्दा एमालेका उम्मेदवारले नै बढी विश्वस्त बनाएका छन् ।” उहाँले आफ्नो परिवारका १० मत नै एमालेका पक्षमा जाने दाबी गर्नुभयो ।
    नागार्जुन नगरपालिकामा भेटिएका मतदाताहरू पनि नयाँ दलले टोल–टोलमा माहोल बनाउन खोजे पनि काठमाडौँका मतदातालाई खासै प्रभाव पार्न नसकेको बताउँछन् । विशेषगरी वडा १२, २१ र २२ मा नेवार समुदायको बाहुल्यता रहेकाले अघिल्ला निर्वाचनमा एमालेको बलियो पकड देखिएको थियो । यही क्षेत्र समेटिएको काठमाडौँ–९ (क) बाट शाक्य २०७४ सालमा सानदार जित निकाल्न सफल हुनु भएको थियो ।

    स्थानीयका अनुसार शाक्यले निर्वाचित भएपछि श्वेत भैरव नारायण मन्दिर, बासुकी दह, टेबहाल नास द्यः, दलाक्षी नास द्यः, स्वः बहाल चैत्य, गोफल इनार, इनाखा गणेश मन्दिरलगायत ऐतिहासिक संरचनाको पुनर्निर्माणमा महत्वपूर्ण योगदान दिनुभयो । साथै विद्यालय, पार्क, सडक, खानेपानी, ढल तथा भौतिक पूर्वाधार विकासमा भएका कामले पनि उहाँको छविलाई बलियो बनाएको मतदाताको बुझाइ छ ।

    यद्यपि क्षेत्रका सबै मतदाता पूर्ण रूपमा एकतर्फी छैनन् । केही मतदाता अझै निर्णयविहीन अवस्थामा छन् । रास्वपा र कांग्रेसप्रति झुकाव राख्ने मतदाताहरू पनि भेटिए । “परिवर्तनको कुरा धेरै हुन्छ, तर परिवर्तन किन र कसरी भन्ने स्पष्ट छैन,” एक मतदाताले प्रतिप्रश्न गर्नुभयो ।

    समग्रमा, मतदातासँगको संवाद र अवस्थाको विश्लेषण गर्दा काठमाडौँ क्षेत्र नम्बर–९ मा एमालेका अजयक्रान्ति शाक्यको माहोल अन्य प्रतिस्पर्धीको तुलनामा अगाडि देखिन्छ । कांग्रेसकी नानु बास्तोलालगायत उम्मेदवारको पनि आफ्नै आधार रहे पनि एमालेका परम्परागत मतदाता खासै विचलित नभएको पाइन्छ । यही कारण यस क्षेत्रमा एमालेका लागि ‘ह्याट्रिक’ जितको सम्भावना बलियो देखिएको छ ।

    ७७ हजारभन्दा बढी मतदाता रहेको यस क्षेत्रको अन्तिम निर्णय भने फागुन २१ गते हुने मतदानपछि मात्रै स्पष्ट हुनेछ ।

    प्रतिक्रिया दिनुहोस

    सम्बन्धित समाचार

    ताजा अपडेट

    © 2026 kalikakhabar.com All right reserved Site By : Kalika Khabar