कार्कीको अभिव्यक्तिले आयोगमाथि उठेको प्रश्न थप गम्भीर बनायो : आचार्य

  • कालिका खवर
  • शुक्रबार, अशोज २, २०८३
  • काठमाडौँ । नेकपा एमालेका प्रचार तथा प्रकाशन विभाग प्रमुख नीरज आचार्यले जेनजी आन्दोलनबारे गठित जाँचबुझ आयोगका अध्यक्ष गौरीबहादुर कार्कीको पछिल्लो अभिव्यक्तिले आयोगको निष्पक्षता र अनुसन्धानमाथि गम्भीर प्रश्न उठेको बताएका छन्।

    सामाजिक सञ्जालमार्फत धारणा सार्वजनिक गर्दै आचार्यले पत्रकार निमेष बन्जाडेसँगको अन्तर्वार्तामा अध्यक्ष कार्कीले ‘हामी नेपाल’का तत्कालीन प्रमुख तथा हालका गृहमन्त्री सुधन गुरुङ २३ गते बिहानै माइतीघरमा एम्बुलेन्स, खानेपानी, माइक, स्वास्थ्य सामग्री र स्वास्थ्यकर्मीसहित पुगेको बताएका उल्लेख गरेका छन्।

    कार्कीको भनाइ उद्धृत गर्दै आचार्यले यस्तो पूर्वतयारीले आन्दोलनको सम्भावित परिणामबारे गुरुङलाई पहिले नै जानकारी थियो कि भन्ने प्रश्न उठेको बताएका छन्। आयोगले अनुसन्धानका क्रममा सीसीटीभी फुटेज र मोबाइल लोकेसनसमेत अध्ययन गरेको कार्कीले बताएका छन्।

    त्यसैगरी, आचार्यले भदौ २४ गते भएको आगजनी, लुटपाट तथा विध्वंसमा संलग्न व्यक्तिमाथि कारबाही नगर्न तत्कालीन प्रधानमन्त्री सुशीला कार्कीले दबाब दिएको अध्यक्ष कार्कीले बताएको दाबी गरेका छन्। कार्कीको अन्तर्वार्ताबारे प्रकाशित विवरणमा सरकारले जेनजीसँग गरेको सहमतिअनुसार विध्वंसात्मक घटनामा संलग्नलाई कारबाही नगर्ने विषय उठेको उल्लेख छ।

    आचार्यले आयोग गठन भएदेखि नै एमालेले अध्यक्ष गौरीबहादुर कार्कीको निष्पक्षतामाथि प्रश्न उठाउँदै आएको स्मरण गराएका छन्। त्यसबेला एमालेको आलोचना गरिएको भए पनि अहिले स्वयं आयोगका अध्यक्षको अभिव्यक्तिले आयोगको निष्पक्षता, अनुसन्धानको दायरा र प्रतिवेदनका निष्कर्षबारे थप प्रश्न खडा गरेको उनको भनाइ छ।‘एमालेले सुरुदेखि उठाउँदै आएको आशंका राजनीतिक आरोप मात्र थियो वा त्यसमा अनुसन्धानयोग्य आधार पनि थियो भन्ने प्रश्न स्वयं अध्यक्ष कार्कीको अभिव्यक्तिले थप गम्भीर बनाएको छ,’ आचार्यले भनेका छन्।

    उनले जेनजी आन्दोलनका घटनासँग सम्बन्धित तथ्यहरू क्रमशः सार्वजनिक हुँदै जाने दाबीसमेत गरेका छन्। ‘अब कालो पर्दा खुल्दै जानेछ। नेकपा एमाले, लोकतन्त्र र देशविरुद्ध गरिएका षड्यन्त्रहरू क्रमशः पटाक्षेप हुँदै जानेछन्,’ आचार्यले सामाजिक सञ्जालमा लेखेका छन्। कार्की आयोगले गत फागुन २४ गते सरकारलाई प्रतिवेदन बुझाएको थियो। प्रतिवेदन सरकारले औपचारिक रूपमा सार्वजनिक नगरे पनि त्यसका विभिन्न विषय सञ्चारमाध्यममा सार्वजनिक हुँदै आएका छन्।

    प्रतिक्रिया दिनुहोस

    सम्बन्धित समाचार

    ताजा अपडेट

    © 2026 kalikakhabar.com All right reserved Site By : Kalika Khabar