एनवाईईएफ वीरगंज र द स्टार्टअप नेटवर्कबीच सहकार्य, युवा उद्यमीलाई नयाँ अवसर

  • कालिका खवर
  • शनिबार, साउन १६, २०८३
  • वीरगंज – नेपाली युवा उद्यमी मञ्च (एनवाईईएफ) वीरगंज च्याप्टर र द स्टार्टअप नेटवर्क (टीएसएन) बीच नेपालमा उद्यमशीलता, नवप्रवर्तन (इनोभेसन), स्टार्टअप विकास तथा युवा उद्यमीहरूको क्षमता अभिवृद्धि गर्ने उद्देश्यले समझदारीपत्र (एमओयू) मा हस्ताक्षर गरिएको छ।

    शनिबार वीरगंजमा आयोजित एक विशेष समारोहमा एनवाईईएफ वीरगंज च्याप्टरका स्टार्टअप चेयर अतुल राउतको नेतृत्वमा दुवै संस्थाबीच औपचारिक रूपमा एमओयूमा हस्ताक्षर सम्पन्न भएको हो।

    कार्यक्रममा वीरगंज उद्योग वाणिज्य संघ (बीआईसीसीआई) का अध्यक्ष हरि गौतम, नेपाल उद्योग वाणिज्य महासंघ (एफएनसीसीआई) मधेश प्रदेशका निवर्तमान अध्यक्ष अशोक टेमानी, बीआईसीसीआईका उपाध्यक्ष माधव राजपाल, नेपाल–भारत चेम्बर अफ कमर्स एण्ड इन्डस्ट्री (एनआईसीसीआई) का अध्यक्ष अभिषेक चौधरी, द स्टार्टअप नेटवर्कका अध्यक्ष सुदीप रौनियार तथा दुवै संस्थाका पदाधिकारी, सदस्य र युवा उद्यमीहरूको उल्लेखनीय उपस्थिति रहेको थियो।

    समझदारीअनुसार अब दुवै संस्थाले संयुक्त रूपमा उद्यमशीलता विकाससम्बन्धी कार्यक्रम, स्टार्टअप लक्षित मेन्टरसिप, क्षमता अभिवृद्धि तालिम, नेटवर्किङ सेसन, नवप्रवर्तनमा आधारित कार्यक्रम तथा युवा उद्यमीलाई व्यवसाय विस्तारमा सहयोग गर्ने विभिन्न गतिविधि सञ्चालन गर्नेछन्।

    कार्यक्रमका वक्ताहरूले नेपालमा स्टार्टअप र नवप्रवर्तनको सम्भावना निरन्तर बढिरहेको उल्लेख गर्दै निजी क्षेत्र, उद्यमी संस्था र स्टार्टअप समुदायबीचको सहकार्यले नयाँ सोच भएका युवालाई व्यवसायमा आकर्षित गर्न तथा रोजगारी सिर्जना गर्न महत्वपूर्ण योगदान पुग्ने विश्वास व्यक्त गरे।

    दुवै संस्थाका प्रतिनिधिहरूले यस सहकार्यले विशेषगरी मधेश प्रदेशका युवा उद्यमी र स्टार्टअपहरूलाई आवश्यक ज्ञान, सीप, सञ्जाल, लगानीका अवसर तथा व्यवसाय विस्तारका सम्भावनामा पहुँच बढाउने विश्वास व्यक्त गर्दै नेपालको स्टार्टअप इकोसिस्टमलाई थप सुदृढ बनाउन संयुक्त रूपमा काम गर्ने प्रतिबद्धता जनाएका छन्।

    प्रतिक्रिया दिनुहोस

    सम्बन्धित समाचार

    ताजा अपडेट

    © 2026 kalikakhabar.com All right reserved Site By : Kalika Khabar