एनसेल र बीवाईडीबीच आईओटी सिममार्फत कनेक्टेड भेइकल सेवा प्रदान गर्ने समझदारी

  • कालिका खवर
  • मङ्लबार, भदौ २, २०८३
  • काठमाडौं। एनसेल र नेपालका लागि बीवाईडीको आधिकारिक वितरक साइमेक्स इन्कबीच कनेक्टेड भेइकल सेवा उपलब्ध गराउनेसम्बन्धी साझेदारी भएको छ। साझेदारीसँगै नेपालमा बिक्री हुने बीवाईडीका नयाँ सवारी साधनमा एनसेलको ‘इन्टरनेट अफ थिङ्स’ (आईओटी) सिम जडान गरिने भएको हो।

    यसबाट बीवाईडीका ग्राहकले अतिरिक्त उपकरण, मोबाइल हटस्पट वा फोन कनेक्ट नगरी सवारी साधनमै उपलब्ध इन्टरनेट कनेक्टिभिटीमार्फत विभिन्न डिजिटल सेवा प्रयोग गर्न सक्नेछन्।

    आईओटी सिममार्फत बीवाईडीको एप इकोसिस्टम तथा कनेक्टेड इन्फोटेनमेन्ट सुविधालाई सपोर्ट गर्ने जनाइएको छ। ग्राहकले सवारी साधनको सिस्टमबाटै युट्युब, स्पोटिफाइ, काराओकेलगायतका अनलाइन सेवा तथा डिजिटल मनोरञ्जन प्रयोग गर्न सक्नेछन्।

    यद्यपि, उपलब्ध हुने सुविधा सवारी साधनको मोडल, सफ्टवेयर तथा नेपालमा उपलब्ध सेवाअनुसार फरक पर्न सक्ने एनसेलले जनाएको छ। आईओटी सिममार्फत एनसेलको देशभरको नेटवर्क कभरेजको लाभ लिन सकिने भए पनि प्रयोगकर्ताको अनुभव स्थान, नेटवर्क कभरेज र सवारी साधनको कन्फिगरेसनअनुसार फरक हुन सक्नेछ।

    सम्झौता हस्ताक्षर कार्यक्रममा एनसेलका चिफ कन्ज्युमर बिजनेस अफिसर उपाङ्ग दत्ताले आईओटी सेवासम्बन्धी साझेदारीले बीवाईडीका सवारी साधनमा स्मार्ट कनेक्टिभिटी, इन्फोटेनमेन्ट, सुरक्षा तथा इन्टेलिजेन्ट मोबिलिटीको अनुभव थप सहज बनाउने बताए।

    उनका अनुसार बीवाईडी एप र विभिन्न इन्फोटेनमेन्ट सेवाका लागि प्रत्यक्ष सवारी कनेक्टिभिटी उपलब्ध हुँदा ग्राहकले बाह्य हटस्पट वा मोबाइल डेटामा निर्भर हुनुपर्ने अवस्था कम हुनेछ। स्थानीय नेटवर्कमार्फत कनेक्टिभिटी उपलब्ध हुँदा नेभिगेसनलगायतका सेवामा समेत सहजता आउने उनको भनाइ छ।

    यो सुविधा बीवाईडीका नयाँ ग्राहकमा मात्र सीमित नहुने भएको छ। यसअघि नै बीवाईडीका सवारी साधन प्रयोग गरिरहेका ग्राहकले पनि नेपालभर रहेका १३ वटा आधिकारिक बीवाईडी सर्भिस सेन्टर मध्ये कुनैमा गएर आफ्नो सवारी साधनमा एनसेलको आईओटी सिम जडान गरी उपलब्ध सुविधा प्रयोग गर्न सक्नेछन्।

    साइमेक्स इन्कका प्रमुख कार्यकारी अधिकृत साहिल श्रेष्ठले एनसेलसँगको सहकार्यले बीवाईडीका ग्राहकको अनुभवलाई थप उन्नत बनाउने बताए। उनका अनुसार भरपर्दो इन–भेइकल कनेक्टिभिटीले ग्राहकलाई बीवाईडीका इन्टेलिजेन्ट सुविधाहरू पूर्ण रूपमा प्रयोग गर्न सहज बनाउनेछ।

    ग्राहकका लागि उपलब्ध कनेक्टिभिटी प्लान, त्यसको अवधि तथा शुल्क भने सवारी साधनको मोडल वा सम्बन्धित सेवा प्याकेजअनुसार फरक हुने जनाइएको छ।

    प्रतिक्रिया दिनुहोस

    सम्बन्धित समाचार

    ताजा अपडेट

    © 2026 kalikakhabar.com All right reserved Site By : Kalika Khabar