डोटीमा बन्थडी देवताको ‘भराण’ ढल्यो, संरक्षणमा ढिलाइ भएको स्थानीयको आरोप; पुनर्निर्माणका लागि चन्दा अभियान

  • कालिका खवर
  • बुधबार, साउन ६, २०८३
  • दिपायल । डोटिको  शिखर नगरपालिका–७ मा रहेको धार्मिक तथा सांस्कृतिक महत्व बोकेको बन्थडी देवताको ‘भराण’ ढलेपछि स्थानीयवासीले संरक्षणमा सम्बन्धित निकायले समयमै प्रभावकारी पहल नगरेको आरोप लगाएका छन्। जोखिममा रहेको जानकारी यसअघि नै स्थानीय सरकारलाई गराइएको भए पनि आवश्यक मर्मत तथा संरक्षण हुन नसक्दा संरचना ढल्न पुगेको स्थानीयवासीको भनाइ छ।

    स्थानीय रूपमा ‘भराण’ भनेर चिनिने बन्थडी देवताको मन्दिर लामो समयदेखि जीर्ण अवस्थामा रहेको स्थानीयले बताएका छन्। समयमै प्राविधिक अध्ययन, मर्मत तथा संरक्षणको काम अघि बढाइएको भए संरचना जोगाउन सकिने उनीहरूको दाबी छ।

    स्थानीयवासीले अब ढलेको संरचनाको संरक्षण, प्राविधिक मूल्याङ्कन र पुनर्निर्माण प्रक्रिया तत्काल अघि बढाउन माग गरेका छन्। उनीहरूका अनुसार बन्थडी देवताको भराण धार्मिक आस्थाको केन्द्र मात्र नभई स्थानीय इतिहास, संस्कृति र पहिचानसँग जोडिएको महत्वपूर्ण सम्पदा हो।

    यता, शिखर नगरपालिका–७ का वडा अध्यक्ष टेकराज भट्टले जोखिमको जानकारी वडा कार्यालयलाई रहेको र चालु आर्थिक वर्ष २०८३/८४ मा संरक्षण तथा पुनर्निर्माणका लागि १ लाख ५० हजार रुपैयाँ बजेट विनियोजन गरिएको जानकारी दिए। तर उक्त रकमले मात्र पुनर्निर्माण सम्भव नभएकाले प्रदेश सरकारसँग थप बजेट माग गर्ने तयारी भइरहेको उनले बताए।

    “जोखिमलाई ध्यानमा राखेर बजेट छुट्याएका थियौं। तर संरचना पुनर्निर्माणका लागि यो रकम पर्याप्त छैन। आवश्यक थप बजेटका लागि प्रदेश सरकारसँग पहल गरिरहेका छौं,” वडा अध्यक्ष भट्टले भने।

    उनका अनुसार पुनर्निर्माणका लागि आवश्यक प्राविधिक परामर्श र स्रोत व्यवस्थापनको प्रक्रिया अघि बढाइनेछ।

    उता, बन्थडी देवताको भराण पुनर्निर्माणका लागि स्थानीयवासीले आफ्नै पहलमा चन्दा संकलन तथा सहयोग अभियानसमेत सुरु गरेका छन्। धार्मिक तथा सांस्कृतिक सम्पदाको संरक्षण साझा दायित्व भएको उल्लेख गर्दै उनीहरूले स्वदेश तथा विदेशमा रहेका गाउँवासी, शुभेच्छुक र सरोकारवालासँग आर्थिक सहयोगका लागि अपिल गरेका छन्।

    स्थानीयका अनुसार जीर्ण अवस्था, समयमै मर्मत हुन नसक्नु तथा प्राकृतिक प्रभावका कारण संरचना ढलेको हुन सक्ने अनुमान गरिएको छ। यद्यपि ढल्नुको वास्तविक कारणबारे प्राविधिक अध्ययन हुन बाँकी छ।

    स्थानीयवासीले भविष्यमा यस्ता धार्मिक तथा सांस्कृतिक सम्पदाको नियमित अनुगमन, संरक्षण र व्यवस्थापनका लागि दीर्घकालीन योजना बनाउन सम्बन्धित निकायसँग माग गरेका छन्।

    प्रतिक्रिया दिनुहोस

    सम्बन्धित समाचार

    ताजा अपडेट

    © 2026 kalikakhabar.com All right reserved Site By : Kalika Khabar