डोकैला बहुअरीमा अशोक टेमानीको जेनजी युवासँग अन्तरक्रिया, युवामुखी एजेन्डामा जोड

  • कालिका खवर
  • सोमवार, फाल्गुन ११, २०८२
  • वीरगंज – जनता समाजवादी पार्टी (जसपा) का पर्सा क्षेत्र नं. २ का प्रतिनिधिसभा सदस्य उम्मेदवार अशोक टेमानीको चुनावी अभियान दिनप्रतिदिन तीव्र बन्दै गएको छ। घरदैलो, मतदाता भेटघाट तथा स्थानीय समस्या सुन्ने कार्यक्रमलाई निरन्तरता दिँदै आएका टेमानीले सोमबार राति बहुदरमाई नगरपालिका–४ डोकैला बहुअरीमा जेनजी युवासँग विशेष अन्तरक्रिया गरेका छन्।

    रात्री भेटघाट कार्यक्रममा क्षेत्रका जेनजी पुस्ताका युवाहरूको उल्लेख्य उपस्थिति रहेको थियो। खुला छलफल शैलीमा सम्पन्न कार्यक्रममा युवाहरूले रोजगारी, सीप विकास, गुणस्तरीय शिक्षा, सूचना प्रविधि पहुँच तथा स्थानीय पूर्वाधार विकासका विषयमा आफ्ना धारणा राखेका थिए। टेमानीले ती सवाललाई गम्भीरतापूर्वक सुन्दै समाधानका लागि नीतिगत पहल गर्ने प्रतिबद्धता जनाए।

    कार्यक्रममा सहभागी युवाहरूले आगामी निर्वाचनमा टेमानीलाई अत्यधिक मतले विजयी गराउन सक्रिय रूपमा प्रचारप्रसारमा लाग्ने प्रतिबद्धता व्यक्त गरेका छन्। युवाहरूले परिवर्तन र संसदसम्म युवाको आवाज पुर्‍याउने आवश्यकता औंल्याउँदै टेमानीप्रति समर्थन जनाएका थिए।

    जेनजी पुस्तालाई लक्षित गर्दै टेमानीले युवालाई केवल मतदाता नभई नीतिनिर्माणका साझेदारका रूपमा अघि ल्याउने योजना रहेको बताए। पर्सा–२ लाई रोजगारी, उद्यमशीलता र आधुनिक पूर्वाधारको केन्द्र बनाउने लक्ष्यसहित आफू अघि बढेको उनको भनाइ थियो।

    अभियानका क्रममा टेमानीले घरदैलो कार्यक्रममार्फत स्थानीय बासिन्दाका गुनासा र सुझाव संकलन गरिरहेका छन्। सडक, खानेपानी, कृषि बजार व्यवस्थापन, स्वास्थ्य सेवा तथा शैक्षिक सुधारलाई आफ्नो प्राथमिक एजेन्डा बनाएको उनले स्पष्ट पारे।

    डोकैला बहुअरी क्षेत्रमा भएको उक्त कार्यक्रमलाई जसपाका स्थानीय कार्यकर्ताहरूले अभियानको महत्वपूर्ण कडीका रूपमा लिएका छन्। युवा पुस्ताको सक्रिय सहभागिताले पर्सा–२ को चुनावी प्रतिस्पर्धा थप रोचक बन्दै गएको देखिएको छ।

    प्रतिक्रिया दिनुहोस

    सम्बन्धित समाचार

    ताजा अपडेट

    © 2026 kalikakhabar.com All right reserved Site By : Kalika Khabar