दलित समूहबाट कांग्रेस केन्द्रीय सदस्यमा निरबहादुर विश्वकर्मा ‘विमल धमला’को उम्मेदवारी

  • कालिका खवर
  • आइतवार, अशोज १८, २०८३
  • काठमाडौँ। नेपाली कांग्रेसको १५ औँ महाधिवेशनमा पार्टीलाई थप सुदृढ, समावेशी र गतिशील बनाउने प्रतिबद्धतासहित दलित समूहबाट केन्द्रीय सदस्य पदमा निरबहादुर विश्वकर्मा ‘विमल धमला’ले उम्मेदवारी घोषणा गर्नुभएको छ। २०५३ सालदेखि नेपाली कांग्रेसमा निरन्तर सक्रिय रहनुभएका विश्वकर्मा करिब तीन दशक लामो राजनीतिक, सामाजिक तथा व्यावसायिक अनुभवसहित महाधिवेशनमा प्रस्तुत हुनुभएको हो।

    पार्टीको नीति, सिद्धान्त र संगठनमा निरन्तर क्रियाशील विश्वकर्मा १३ औँ, १४ औँ र १५ औँ महाधिवेशनमा लगातार महाधिवेशन प्रतिनिधि निर्वाचित हुनुभएको छ। उहाँले नेपाल राष्ट्रिय दलित समाज कल्याण संघ पाँचथर शाखाको तीन कार्यकाल केन्द्रीय सदस्य तथा नेपाल दलित संघको जिल्ला सचिवका रूपमा काम गर्नुभएको थियो भने हाल नेपाल दलित संघको आमन्त्रित केन्द्रीय सदस्यका रूपमा सक्रिय हुनुहुन्छ।

    २०६२/६३ को ऐतिहासिक जनआन्दोलनमा समेत सक्रिय सहभागी हुनुभएका विश्वकर्मा २०७६ को राष्ट्रिय सभा सदस्य निर्वाचनमा नेपाली कांग्रेसका तर्फबाट कोशी प्रदेशबाट उम्मेदवार बन्नुभएको थियो। लामो राजनीतिक यात्राका क्रममा उहाँले दलित तथा उत्पीडित समुदायको अधिकार, सामाजिक न्याय र पार्टी संगठन सुदृढीकरणका विषयलाई प्राथमिकतामा राख्दै आएको बताउनुभएको छ।

    राजनीतिसँगै विश्वकर्मा व्यावसायिक तथा सामाजिक क्षेत्रमा पनि सक्रिय हुनुहुन्छ। २०५४ सालदेखि पैतृक सुनचाँदी व्यवसायमा आबद्ध उहाँ सुनचाँदी व्यवसायी संघ पाँचथरको अध्यक्ष तथा कोषाध्यक्षको जिम्मेवारी सम्हाल्दै हाल नेपाल सुनचाँदी रत्न तथा आभूषण महासंघको केन्द्रीय महासचिव हुनुहुन्छ। व्यावसायिक कृषिअन्तर्गत कफी तथा फलफूल उत्पादनमा समेत संलग्न उहाँले स्थानीयस्तरमा रोजगारी सिर्जना गर्न योगदान पुर्‍याउँदै आउनुभएको छ।

    सामाजिक सेवाका क्षेत्रमा पनि विश्वकर्माको सक्रियता रहँदै आएको छ। पाँचथरको शिवालय मन्दिर परिसरमा बाबा मन्दिर निर्माणको अगुवाइ गर्नुभएका उहाँले भोटेकोशी बाढीबाट प्रभावितका लागि ४६ लाख रुपैयाँभन्दा बढी राहत रकम संकलन गरी प्रधानमन्त्री राहत कोषमा हस्तान्तरण गर्न नेतृत्वदायी भूमिका निर्वाह गर्नुभएको थियो।

    आफ्नो उम्मेदवारी पार्टीको संस्थागत आधारलाई थप बलियो बनाउने, दलित तथा उत्पीडित समुदायको आवाजलाई केन्द्रीय तहमा प्रभावकारी रूपमा उठाउने र युवा पुस्ताको ऊर्जालाई पार्टी संगठनमा जोड्ने उद्देश्यले भएको विश्वकर्माले बताउनुभएको छ। उहाँले नेपाली कांग्रेसका सम्पूर्ण महाधिवेशन प्रतिनिधिलाई आफ्नो पक्षमा मतदान गरी अत्यधिक मतका साथ विजयी गराउन अपिल गर्नुभएको छ।

    प्रतिक्रिया दिनुहोस

    सम्बन्धित समाचार

    ताजा अपडेट

    © 2026 kalikakhabar.com All right reserved Site By : Kalika Khabar