डेढ महिनादेखि बस्न सकेन गण्डकी प्रदेशसभा बैठक

  • कालिका खवर
  • सोमवार, अशोज २७, २०८२
  • गण्डकी : ‘जेनजी’ आन्दोलनका क्रममा गण्डकी प्रदेशसभा भवन क्षतिग्रस्त भएपछि प्रदेशसभाको कामकारबाही झण्डै डेढ महिनादेखि प्रभावित भएको छ । पछिल्लोपटक गत भदौ १६ गते प्रदेशसभा बैठक बसेको थियो । त्यसयता दुईपटकसम्म बैठक डाकिएकामा अन्तिम समयमा आएर स्थगित गरिएको थियो । बैठक कहिले बस्छ भन्ने अझै टुङ्गो छैन ।

    भदौ २५ गतेलाई बोलाइएको बैठक त्यसको अघिल्लो दिन भदौ २४ मा ‘जेनजी’ प्रदर्शनकारीले प्रदेशसभा भवनमा तोडफोड र आगजनी गरेपछि बैठक बस्न सकेको थिएन । ‘जेनजी’ आन्दोलनपछि उत्पन्न विषम परिस्थितिका कारण अनश्चितकालसम्मका लागि स्थगित गरिएको बैठक गत बुधबार कृषि, भूमि व्यवस्था तथा सहकारी मन्त्रालयको सभाकक्षमा बस्ने तय भएको थियो ।

    उक्त दिन पनि प्रदेशसभा बैठक सञ्चालन हुन सकेन । अन्तिम समयमा आएर विशेष कारण देखाउँदै प्रदेशसभा सचिवालयले बैठक स्थगित भएको सूचना निकाल्यो । अर्को सूचना नभएसम्मका लागि बैठक स्थगित गरिएको सचिवालयले जनाएको छ । सभामुख कृष्णप्रसाद धितालले प्राविधिक तयारी नपुगेका कारण बैठक स्थगित भएको बताए ।

    “नयाँ ठाउँमा बैठक बस्नुपर्ने भएकाले व्यवस्थापकीय र प्राविधिक तयारी पनि सोही अनुसार गर्नुपर्ने अवस्था छ”, उनले भने, “अब तिहारपछि नै बैठक बस्छ, त्यतिञ्जेलसम्म तयारी पनि पुग्छ ।” गत बुधबार बोलाइएको बैठकमा गाँजा खेती र खानी तथा खनिजसम्बन्धी विधेयकमा दफाबार छलफल गरी र पारित गर्ने सम्भावित कार्यसूचि तयारी थियो । प्रदेशसभा बैठक प्रभावित हुँदा कानुन निर्माणमा ढिलाइ हुने देखिएको छ ।

    पुनः प्रयोगमा ल्याउन नमिल्ने गरी प्रदेशसभा भवनलगायत संरचनामा क्षति पुगेकाले प्रदेशसभा बैठक सञ्चालनका लागि कृषि मन्त्रालयको भवनमा वैकल्पिक व्यवस्था गरिएको हो । हालै मात्र प्रदेशसभाको नयाँ भवन निर्माण सुरु गरिएकाले उक्त भवन नबनेसम्म अस्थायी संरचनाबाट प्रदेशसभाका कामकारबाही सञ्चालन हुने प्रदेशसभा सचिवालयले जनाएको छ ।

    ‘जेनजी’ प्रदर्शनकारीले प्रदेशसभा भवनसहित मातहतका भवन, सवारीसाधनलगायतमा तोडफोड र आगजनी गरेका थिए । प्रदेशसभा भवन काठ र ढुङ्गाबाट बनेको पुरानो शैलीको संरचना भएकाले आगलागीले पूर्ण रूपमा क्षति पराएको थियो । प्रदेशसभा सचिवालय रहेको भवन, विषयगत समिति, संसदीय दलका कार्यालय आदिमा पनि आगजनी गरिएको थियो ।

    प्रतिक्रिया दिनुहोस

    सम्बन्धित समाचार

    ताजा अपडेट

    © 2025 kalikakhabar.com All right reserved Site By : Kalika Khabar