चोलेन्द्रले चलखेल गर्ने आशंकामा दीपक भट्टलाई सिन्धुपाल्चोक कारागार सारियो

  • कालिका खवर
  • आइतवार, अशोज १८, २०८३
  • काठमाडौं । सम्पत्ति शुद्धीकरणसम्बन्धी मुद्दामा पुर्पक्षका लागि थुनामा रहेका व्यवसायी दीपक भट्टलाई नख्खु कारागारबाट सिन्धुपाल्चोक कारागार स्थानान्तरण गरिएको छ ।

    कारागार व्यवस्थापन विभागको निर्णयअनुसार भट्टलाई शनिबार साँझ ललितपुरस्थित नख्खु कारागारबाट सिन्धुपाल्चोक पठाइएको हो । नख्खु कारागारका प्रमुख दीर्घराज उपाध्यायले विभागबाट पत्र आएपछि भट्टलाई सिन्धुपाल्चोक पठाइएको पुष्टि गरेका छन् ।

    भट्टको सरुवाको विषय पूर्वप्रधानन्यायाधीश चोलेन्द्रशमशेर जबरासँग जोडिएको पछिल्लो घटनाक्रमसँग पनि जोडिएको छ । प्रहरीको प्रारम्भिक अनुसन्धानका क्रममा जबरासँग निकट रहेको भनिएका इनम सापकोटासँग भट्टको सम्पर्क देखिएको बताइएको छ । यही विषयमा प्रहरीले सापकोटालाई नियन्त्रणमा लिएर सोधपुछसमेत गरेको छ ।

    प्रहरी स्रोतका अनुसार भट्ट र अर्का व्यवसायी सुलभ अग्रवालसँग सापकोटामार्फत जबराको सम्पर्क हुने गरेको विषयमा अनुसन्धान भइरहेको छ । सापकोटासँगको सोधपुछका क्रममा जबरा, भट्ट र अग्रवालबीचको सम्पर्कबारे थप विवरण खुलेको प्रहरी स्रोतको दाबी छ ।

    यद्यपि, भट्टलाई सिन्धुपाल्चोक सार्नुको आधिकारिक कारण भने कारागार प्रशासनले स्पष्ट रूपमा सार्वजनिक गरेको छैन । नख्खु कारागारका प्रमुख उपाध्यायले कारागार स्थानान्तरण नियमित प्रक्रियाको हिस्सा भएको बताएका छन् । विभागबाट पत्र प्राप्त भएपछि त्यसअनुसार भट्टलाई सिन्धुपाल्चोक पठाइएको उनको भनाइ छ ।

    कारागार व्यवस्थापन विभागका एक अधिकारीले भने भट्टको सरुवा सामान्य प्रकृतिको नदेखिएको बताएका छन् । नख्खु कारागारबाटै उनले मुद्दाको प्रक्रियालाई प्रभावित पार्न वा बाहिरी व्यक्तिसँग सम्पर्क कायम राख्न खोजेको सूचना उच्च तहसम्म पुगेको हुन सक्ने र त्यसपछि उनलाई अर्को कारागार पठाइएको हुन सक्ने ती अधिकारीको भनाइ छ ।

    कारागार प्रशासनको अभिलेखमा भने भट्टको आचरण ‘सामान्य’ रहेको उल्लेख गरिएको छ । नख्खु कारागारबाट सिन्धुपाल्चोक पठाउने पत्रमा पनि कारागार व्यवस्थापन विभागको निर्णयअनुसार आवश्यक कागजात र फाइलसहित स्थानान्तरण गरिएको उल्लेख छ ।

    भट्ट यसअघि डिल्लीबजार कारागारमा थिए । पछि उनलाई नख्खु सारिएको थियो । नख्खु पुगेको केही समयमै पुनः सिन्धुपाल्चोक स्थानान्तरण गरिएपछि उनको कारागार सरुवालाई लिएर चासो बढेको छ ।

    भट्टविरुद्ध सम्पत्ति शुद्धीकरण, बैंकिङ तथा अन्य वित्तीय कसुरसम्बन्धी मुद्दा अदालतमा विचाराधीन छन् । विशेष अदालतले सम्पत्ति शुद्धीकरणसम्बन्धी मुद्दामा उनलाई पुर्पक्षका लागि थुनामा पठाएको थियो । यसअघि उच्च अदालत पाटनले बैंकिङ कसुरसम्बन्धी मुद्दामा पनि उनलाई थुनामा राखेर मुद्दाको प्रक्रिया अघि बढाउने आदेश दिएको थियो ।

    यसैबीच, पूर्वप्रधानन्यायाधीश जबरालाई असोज ११ गते प्रहरीले सुरक्षा चुनौती देखाउँदै नियन्त्रणमा लिएर केही समयपछि छाडेको थियो । त्यसयता जबरासँग सम्पर्कमा रहेका भनिएका व्यक्तिहरू तथा उनको सम्पर्क सञ्जालबारे प्रहरीले अनुसन्धान अघि बढाएको छ । सोही अनुसन्धानको क्रममा भट्टसँग जोडिएको सम्पर्कबारे समेत अध्ययन भइरहेको बताइएको छ ।

    प्रतिक्रिया दिनुहोस

    सम्बन्धित समाचार

    ताजा अपडेट

    © 2026 kalikakhabar.com All right reserved Site By : Kalika Khabar