चिलिमे सुरुङमा फसेका कर्मचारीको उद्धार कार्य तीव्र, विद्युतगृह पुग्न अब १०० मिटर बाँकी : कुलमान

  • कालिका खवर
  • शुक्रबार, भदौ २६, २०८३
  • काठमाडौं । रसुवास्थित चिलिमे जलविद्युत केन्द्रको भूमिगत विद्युतगृहमा फसेका कर्मचारीहरूको खोजी तथा उद्धार कार्य तीव्र रूपमा अगाडि बढिरहेको छ । उज्यालो नेपाल पार्टीका अध्यक्ष तथा चिलिमे जलविद्युत कम्पनीका पूर्वप्रबन्ध निर्देशक कुलमान घिसिङले उद्धारस्थलमै पुगेर प्राविधिक समन्वय र सहजीकरण गरिरहेका छन् ।

    उनले सामाजिक सञ्जालमार्फत दिएको जानकारीअनुसार विद्युतगृह जाने मुख्य पहुँच सुरुङमा ठूलो परिमाणमा थुप्रिएको लेदो, बालुवा र ढुङ्गा पन्छाउँदै उद्धार टोली निरन्तर अघि बढिरहेको छ ।

    सुरुङको साँघुरिएको स्थानबाट करिब १२० मिटर भित्रबाट आवाज पठाउँदा त्यसको प्रतिध्वनि (इको) सुनिएको र त्यहाँबाट चिसो हावा समेत आइरहेको पाइएको छ । यसले गर्दा सुरुङभित्र फसेका व्यक्तिहरू सकुशल नै हुन सक्ने आशा र अनुमानलाई थप बल पुगेको घिसिङले बताएका छन् । उनका अनुसार अब विद्युतगृह पुग्न करिब १०० मिटर मात्र बाँकी रहेको छ । उद्धारलाई थप गति दिन स्याफ्रुबेँसीतर्फबाट एक्स्काभेटरले सुरुङसम्म पुग्ने बाटो बनाउने काम द्रुत गतिमा गरिरहेको छ ।

    आजसम्ममा सुरुङसम्म एक्स्काभेटर पुग्ने सम्भावना रहेको र त्यसपछि एक्स्काभेटर तथा लोडरको प्रयोगले उद्धार कार्य झनै छिटो हुने बताइएको छ । कठिन र संवेदनशील उद्धार कार्यमा नेपाली सेना, नेपाल प्रहरी, सशस्त्र प्रहरी बल, भारतीय सेनाको विज्ञ उद्धार टोली, स्थानीय प्रशासन तथा चिलिमेका कर्मचारीहरू उच्च मनोबलका साथ अहोरात्र खटिएका छन् ।

    घिसिङले उद्धारमा संलग्न सबै सुरक्षा निकाय तथा प्राविधिक टोलीप्रति आभार व्यक्त गर्दै सुरुङभित्र रहेका सबैलाई सकुशल उद्धार गर्न सकिने विश्वास व्यक्त गरेका छन् ।

    प्रतिक्रिया दिनुहोस

    सम्बन्धित समाचार

    ताजा अपडेट

    © 2026 kalikakhabar.com All right reserved Site By : Kalika Khabar