चीन र उत्तर कोरियाबीच सहकार्य विस्तार गर्ने सहमति

  • कालिका खवर
  • मङ्लबार, जेष्ठ २६, २०८३
  • काठमाडौँ : उत्तर कोरियाली नेता किम जोङ उन र चिनियाँ राष्ट्रपति सी जिनपिङबीच प्योङयाङमा भएको शिखर वार्तामा राजनीति, अर्थतन्त्र र संस्कृतिका क्षेत्रमा सहकार्य विस्तार गर्ने सहमति भएको छ ।

    उत्तर कोरियाको सरकारी समाचार संस्था कोरियन सेन्ट्रल न्यूज एजेन्सी (केसीएनए) ले मंगलबार सो जानकारी दिएको हो । शीर्ष नेताहरू बीचको भेटवार्ताले दुई देशबीचको सम्बन्धमा नयाँ अध्याय पनि सुरु गरेको समाचारमा उल्लेख छ ।

    चीनको एक मात्र औपचारिक सन्धि-सहयोगी उत्तर कोरियाको सात वर्षपछि पहिलो भ्रमणमा पुगेका सीले द्विपक्षीय सम्बन्धलाई अझ अघि बढाउने लक्ष्य रहेको बताएका थिए । केसीएनएका अनुसार दुवै नेताले उच्चस्तरीय अधिकारीहरूको भ्रमणमार्फत रणनीतिक संवादलाई अझ सुदृढ बनाउने सहमति गरेको रोयटर्सले जनाएको छ ।

    किमले बदलिँदो अन्तर्राष्ट्रिय परिस्थितिका बीच पनि चीनले अघि सारेको ‘एक चीन सिद्धान्त’ लाई पूर्ण समर्थन गर्ने बताएका छन् । बेइजिङले यस सिद्धान्तअन्तर्गत ताइवान जलडमरूमध्यका दुवै किनारा एउटै देशका हिस्सा भएको मान्यता राख्छ ।

    चीनले लोकतान्त्रिक शासन व्यवस्था रहेको ताइवानलाई आफ्नो भूभागको हिस्सा मान्दै आएको छ र आवश्यक परे बल प्रयोग गरेर पनि नियन्त्रणमा ल्याउने विकल्प नत्यागेको बताउने गरेको छ । तर ताइपेईले चीनको सार्वभौमिकताको दाबी अस्वीकार गर्दै आएको छ ।

    यसैबीच मंगलबार सीले प्योङयाङस्थित सिनो कोरियन फ्रेन्डसिप टावर भ्रमण गरेका थिए । यो स्मारक कोरियाली युद्धमा ज्यान गुमाएका चिनियाँ सैनिकहरूको सम्झनामा निर्माण गरिएको हो, चिनियाँ सरकारी समाचार संस्था सिन्ह्वा न्यूज एजेन्सीले जनाएको छ ।

    दुई नेताबीच थप वार्ता हुने वा नहुनेबारे तत्काल स्पष्ट नभए पनि उनीहरूले पार्टीका कार्यकर्ता प्रशिक्षणका लागि महत्वपूर्ण मानिने एक राजनीतिक विद्यालयको परिसरमा संयुक्त रूपमा वृक्षरोपण गरेका छन् । सिन्ह्वाका अनुसार उक्त बिरुवाले ‘निरन्तर नवीकरण हुँदै जाने मित्रता’को प्रतीकात्मक सन्देश दिएको छ ।

    प्रतिक्रिया दिनुहोस

    सम्बन्धित समाचार

    ताजा अपडेट

    © 2026 kalikakhabar.com All right reserved Site By : Kalika Khabar