चामल र खानेतेलको मूल्य बढ्यो, उपभोक्तामाथि थप भार

  • कालिका खवर
  • सोमवार, साउन १८, २०८३
  • काठमाडौं । पछिल्लो तीन महिनामा चामल र खानेतेलको मूल्य उल्लेख्य रूपमा बढेपछि उपभोक्ताको दैनिक खर्च बढेको छ ।

    व्यवसायीका अनुसार चामलको मूल्य प्रतिकेजी २० रुपैयाँसम्म र प्रतिबोरा ३५० देखि ४०० रुपैयाँसम्म वृद्धि भएको छ ।

    नेपाल खुद्रा व्यापार संघका अनुसार स्टिम जिरा मसिना चामल प्रतिकेजी ८० रुपैयाँबाट १०० रुपैयाँ, पोखरेली चामल ९५ रुपैयाँबाट १२० रुपैयाँ र लङ्ग्रेन बासमती चामल १७५ रुपैयाँबाट १९० रुपैयाँ पुगेको छ । संघले थोक बजारमै मूल्य अस्वाभाविक रूपमा बढेको जनाएको छ ।

    उद्योगीहरूले नेपाल चामल आयातमा निर्भर भएकाले भारतको निर्यात नीति, उत्पादनमा कमी र धानको समर्थन मूल्य वृद्धिको प्रत्यक्ष असर नेपाली बजारमा परेको बताएका छन् ।

    साल्ट ट्रेडिङ कर्पोरेसनका अनुसार प्रतिबोरा सोना मन्सुली चामलको मूल्य १ हजार ३५० रुपैयाँबाट बढेर १ हजार ७५० रुपैयाँ पुगेको छ ।

    त्यस्तै, २० केजी लङ्ग्रेन बासमती चामलको मूल्य ३ हजार ५०० रुपैयाँ पुगेको छ ।

    २५ केजी जिरा मसिनो चामलको मूल्य पनि १ हजार ८०० रुपैयाँबाट बढेर २ हजार ३३० रुपैयाँ पुगेको छ ।

    यस्तै, खानेतेलको मूल्य पनि प्रतिलिटर ३० रुपैयाँले बढेको छ । संघका अनुसार असार १ गते प्रतिलिटर ३५० रुपैयाँ रहेको काँचो तोरीको तेल साउन १ गतेदेखि बढेर ३८० रुपैयाँ र भुटेको तोरीको तेल ४३० रुपैयाँबाट ४६० रुपैयाँ प्रतिलिटर पुगेको छ ।

    भटमास र सूर्यमुखी तेलको खुद्रा मूल्य पनि प्रतिलिटर २९० रुपैयाँसम्म पुगेको छ ।

    प्रतिक्रिया दिनुहोस

    सम्बन्धित समाचार

    ताजा अपडेट

    © 2026 kalikakhabar.com All right reserved Site By : Kalika Khabar