बजार अनुगमनमा म्याद गुज्रेका लड्डुदेखि गन्हाएको आलुसम्म फेला

  • कालिका खवर
  • बिहिबार, भदौ २५, २०८३
  • काठमाडौं । खाद्य प्रविधि तथा गुण नियन्त्रण विभागले काठमाडौं उपत्यकामा गरेको बजार अनुगमनका क्रममा खाद्य स्वच्छता र गुणस्तरमा कैफियत भेटिएको छ। विभागले भदौ २४ गते तीनवटा खाद्य व्यवसायको निरीक्षण गर्दै एक व्यवसायलाई ३ लाख रुपैयाँ जरिवाना गराएको छ भने अन्य व्यवसायलाई सुधारका लागि निर्देशन दिएको छ।

    बालुवाटारस्थित आकाश फुड्सको नियमित अनुगमनका क्रममा उपभोग्य मिति समाप्त भएका आठ प्याकेट लड्डु भेटिएका थिए। त्यस्तै, पानीपुरीमा प्रयोग हुने आलुको स्टफिङमा अस्वाभाविक गन्ध आएको तथा फ्राइङ तेलको TPM value २३ रहेको पाइएको विभागले जनाएको छ।

    अनुगमनपछि गन्ध आएको करिब १०० ग्राम आलु तथा म्याद समाप्त भएका आठ प्याकेट लड्डु नष्ट गरिएको छ। साथै, वाणिज्य, आपूर्ति तथा उपभोक्ता संरक्षण विभागले उपभोक्ता संरक्षण ऐन, २०७५ बमोजिम उक्त व्यवसायलाई ३ लाख रुपैयाँ जरिवाना गरेको छ। व्यवसायलाई खाद्य स्वच्छता कायम राख्नसमेत निर्देशन दिइएको छ।

    यता, चन्द्रागिरी नगरपालिका–३ स्थित सुजल डेरी प्रालिमा गरिएको निरीक्षणमा उद्योगको सरसफाइ, प्रयोगशाला तथा कर्मचारीको व्यक्तिगत सरसफाइको अवस्था सन्तोषजनक पाइएको विभागले जनाएको छ। दूध प्रशोधन भइरहेको अवस्थामा भेटिएको उक्त उद्योगबाट थप अनुसन्धानका लागि दूधको नमुना संकलन गरिएको छ।

    त्यसैगरी, काठमाडौं महानगरपालिका–१३ बाफलस्थित बाजेको डेरी पसलको उजुरी तथा गुनासोका आधारमा गरिएको अनुगमनमा सरसफाइ कमजोर रहेको पाइएको छ। पसलमा खुला दही तथा दूध बिक्री भइरहेको, घ्यू उत्पादन गर्ने गरिएको र फ्रिजमा पूर्ण लेबल विवरण नभएका खाद्य पदार्थ राखिएको भेटिएको विभागले जनाएको छ।

    पसललाई नियमित सरसफाइ गर्न निर्देशन दिइनुका साथै थप अनुसन्धानका लागि दही र दूधको नमुना संकलन गरिएको छ। उजुरीमा उल्लेख गरिएको विषय भने स्थलगत अनुगमनका क्रममा फेला नपरेको विभागले स्पष्ट पारेको छ।

    विभागले खाद्य स्वच्छता तथा गुणस्तर ऐन, २०८१ बमोजिम बजारमा आकस्मिक तथा नियमित अनुगमनलाई निरन्तरता दिइरहेको जनाएको छ।

    प्रतिक्रिया दिनुहोस

    सम्बन्धित समाचार

    ताजा अपडेट

    © 2026 kalikakhabar.com All right reserved Site By : Kalika Khabar