बीरगञ्जमा बढ्दो सवारी चोरी : परीक्षा दिन पुगेका विद्यार्थीको नयाँ बाइक परीक्षा केन्द्रबाटै चोरी

  • कालिका खवर
  • शुक्रबार, असार १९, २०८३
  • बीरगञ्ज, असार १८। पर्सा जिल्लामा पछिल्लो समय सवारी साधन चोरीका घटनामा उल्लेख्य वृद्धि हुन थालेपछि सर्वसाधारणमा त्रास बढ्दै गएको छ। विशेषगरी बीरगञ्ज महानगरपालिका क्षेत्रमा मोटरसाइकल चोरीका घटना लगातार बढ्न थालेका छन्।

    यही क्रममा सर्लाहीबाट बीरगञ्जस्थित नर्सिङ विद्यालयमा चौथो वर्षको परीक्षा दिन आएका परीक्षार्थी राहुल कुमार कुशवाहाको मोटरसाइकल परीक्षा केन्द्र परिसरबाटै चोरी भएको छ। कुशवाहाका अनुसार, आफ्नै नाममा दर्ता रहेको पल्सर २०० एनएस मोटरसाइकल परीक्षा दिइरहेका बेला अज्ञात चोरहरूको समूहले चोरी गरेको हो।

    उक्त मोटरसाइकल उनले करिब एक साताअघि मात्र नामसारी गराएका थिए। परीक्षा सकेर बाहिर निस्कँदा पार्किङमा राखिएको मोटरसाइकल नदेखिएपछि चोरी भएको थाहा भएको उनले बताएका छन्। घटनापछि प्रहरीमा जानकारी गराइएको छ भने खोजी कार्य भइरहेको जनाइएको छ।

    पछिल्ला केही दिनयता बीरगञ्ज महानगरपालिका क्षेत्रमा मोटरसाइकल तथा अन्य चोरीका घटनाहरू बढ्दै गएको स्थानीयको गुनासो छ। सार्वजनिक स्थल, शैक्षिक संस्था तथा भीडभाड हुने क्षेत्रमा समेत चोरीका घटना भइरहेकाले नागरिकको सुरक्षामाथि प्रश्न उठ्न थालेको छ।

    स्थानीयले सवारी चोरी नियन्त्रणका लागि प्रहरी गस्ती प्रभावकारी बनाउन, संवेदनशील क्षेत्रमा सिसिटिभी निगरानी विस्तार गर्न तथा चोरीमा संलग्न गिरोहलाई तत्काल पक्राउ गरी कानुनी कारबाही गर्न सम्बन्धित सुरक्षा निकायसँग माग गरेका छन्। बढ्दो चोरीका घटनाले नागरिकमा असुरक्षाको भावना बढ्दै गएकाले यसतर्फ सुरक्षा निकायले विशेष ध्यान दिनुपर्ने आवश्यकता देखिएको छ।

    प्रतिक्रिया दिनुहोस

    सम्बन्धित समाचार

    ताजा अपडेट

    © 2026 kalikakhabar.com All right reserved Site By : Kalika Khabar