भोटेकोशी बाढी: यातायात महासंघका १९१ सवारीसाधनमा क्षति, ३४४ जना बेपत्ता

  • कालिका खवर
  • बिहिबार, अशोज १, २०८३
  • काठमाडौँ : गत भदौ १० गते रसुवाको भोटेकोशी नदीमा आएको भिषण बाढीका कारण नेपाल यातायात व्यवसायी राष्ट्रिय महासंघअन्तर्गतका १९१ वटा सवारीसाधनमा व्यापक क्षति पुगेको छ।

    महासंघका महासचिव डेकनाथ गौतमका अनुसार बाढीले देशभरका नौ वटा विभिन्न यातायात कम्पनीका १९१ सवारीसाधन ध्वस्त पार्नुका साथै तिनमा सवार चालक, सहचालक र यात्रु गरी कुल ३४४ जना बेपत्ता भएका छन्।

    बाढीका कारण नेपाल अरनिको यातायात सेवा प्रालिका १९ बस, एक मिनिट्रक, दुई जिप र चार कन्टेनरमा क्षति पुग्दा ५० जना मजदुर बेपत्ता भएका छन्।

    त्यस्तै, बालाजुस्थित नमस्ते पासाङ ल्हामु यातायात प्रालिका १९ वटा बस क्षति हुँदा २१ जना बेपत्ता छन् भने भक्तपुर न्यू भिजन यातायात प्रालिका दुई कन्टेनरमा क्षति पुग्दा दुई चालक बेपत्ता भएका छन्।

    यसै गरी, हिमालयन यातायात कम्पनीका चार ट्रक, १६ कन्टेनर र एक सुमोमा क्षति पुग्दा १० जना चालक बेपत्ता भएका छन्। नेपाल टिपर तथा ट्रक व्यवसायी समितिका सात टिपर, २२ कन्टेनर, २३ ट्रक र एक ट्रेलरमा क्षति पुगी ४५ जना चालक बेपत्ता भएका छन्।

    सबैभन्दा धेरै क्षति भोगेको नारायणी यातायात व्यवसायी कम्पनी प्रालिका ५९ वटा ट्रक तथा कन्टेनर क्षतिग्रस्त हुँदा ७० जना बेपत्ता भएका छन् भने नेपाल माइक्रो कम्पनीका नौ वटा माइक्रोबसमा क्षति पुगेको छ।

    यस्तै, यात्रुवाहक सवारीतर्फ पृथ्वी राजमार्ग सञ्चालक कम्पनीको एक बसमा क्षति पुग्दा एक चालक र २२ जना यात्रु बेपत्ता भएका छन्। धादिङ मण्डली यातायात प्रालिको एक बस बाढीमा पर्दा एक चालक र २५ जना तीर्थयात्री बेपत्ता भएको महासंघले जनाएको छ।

    प्रतिक्रिया दिनुहोस

    सम्बन्धित समाचार

    ताजा अपडेट

    © 2026 kalikakhabar.com All right reserved Site By : Kalika Khabar