भक्तपुरमा पनि रात्रिकालीन बस सञ्चालनका लागि प्रस्ताव

  • कालिका खवर
  • मङ्लबार, भदौ ३०, २०८३
  • काठमाडौँ : काठमाडौं महानगरपालिकाले उपत्यकामा रात्रिकालीन सार्वजनिक यातायात सेवा विस्तार गर्न भक्तपुरका स्थानिय सरकारलाई पनि प्रस्ताव गरेको छ।

    काठमाडौं महानगरकी कार्यवाहक मेयर सुनिता डंगोलले भक्तपुर नगरपालिका र मध्यपुर थिमी नगरपालिकालाई रात्रिकालीन यातायात सञ्चालनका लागि प्रस्ताव गरेकी हुन्। काठमाडौं र ललितपुरका स्थानीय सरकारले सञ्चालन गरेको रात्रिकालीन यातयात सेवामा जोडिन उनले भक्तपुरलाई पनि आग्रह गरेकी छन्।

    ‘अहिले हामी रुट विस्तार गर्दै छौँ। यस क्रममा भक्तपुरलाई पनि यसैगरी साझेदारीमा जोडेर अघि बढाउन विशेष अनुरोध गर्दछु,’ उनले भनिन्।

    गत वैशाख १ गतेदेखि काठमाडौं, ललितपुर, बुढानिलकण्ठ र चन्द्रागिरी नगरपालिकाको सहकार्ययमा साझा यातयातले रात्रिकालीन यातयात सेवा सञ्चालन भइरहेको छ। रात्रिकालीन बस सेवा काठमाडौं बाहिरका क्षेत्रमा विस्तार गर्नुपर्ने माग बढेको उनले बताइन्।

    अब सेवा विस्तारका लागि भक्तपुरका स्थानीय सरकारहरूले पनि साझेदारी गर्नुपर्ने उनको भनाइ छ। श्रमिक तथा मध्यम वर्गको लागि रात्रिकालीन वस सेवा अत्यावश्यक देखिएको डंगोलले बताइन्।

    ‘राति ६–७ बजेपछि सार्वजनिक यातायातका साधनहरू बिस्तारै कम हुँदै जान्छन्। काम सकेर घर फर्किनुपर्दा सार्वजनिक यातायात नपाउने समस्या उहाँहरूले भोग्दै आउनुभएको छ,’ डंगोलले भनिन्, ‘अहिले राइड सेयरिङको सुविधा भए पनि तुलनात्मक रूपमा त्यो महँगो छ। त्यसैले सार्वजनिक यातायातको पहुँच कसरी सुनिश्चित गर्ने भन्ने विषयमा हामीले दिउँसोको सेवासँगै रात्रिकालीन सेवामा पनि सुधार गर्नुपर्ने आवश्यकता देखेका छौँ।’

    प्रारम्भिक चरणमा यातयात सेवा सञ्चालनमा केही घाटा देखिएको उनले बताइन्। त्यसलाई सबै स्थानीय तहले बेहोर्नेगरी सेवा सञ्चालन गर्नुपर्नेमा उनको जोड छ।

    ‘सेवा सञ्चालन हुने रुटसँग प्रत्यक्ष रूपमा जोडिएका पालिकाहरूले लागत साझेदारी गर्ने हो भने कुनै एउटा पालिकामाथि ठूलो आर्थिक भार पनि पर्दैन,’ उनले भनिन्, ‘अर्को महत्वपूर्ण पाटो भनेको स्वामित्व हो। एउटा पालिकाले मात्र म गर्छु भनेर यो सेवा सञ्चालन गर्न सक्ला, तर हामीले त्यसरी अघि बढ्नुहुँदैन। यसमा संयुक्त स्वामित्व हुनुपर्छ।’

    रात्रिकालीन सार्वजनिक यातायात सेवा सञ्चालन हुने सबै स्थानीय सरकारबीच वित्तीय साझेदारी गरेर सेवालाई दीर्घकालिन सञ्चालन गर्नुपर्ने बताइन्। यातयात सेवालाई दिगो बनाउनसकेमा यात्रु संख्या बढ्ने उनको विश्वास छ।

    ‘हाम्रो शहरलाई सुरक्षित बनाउन यातायातको अत्यन्त महत्त्वपूर्ण भूमिका हुन्छ। अर्को महत्त्वपूर्ण कुरा भनेको एउटा पालिकालाई अर्को पालिकासँग जोड्ने अन्तरपालिका यातायात पनि हो,’ उनले भनिन्।

    उनले रात्रिकालीन सार्वजनिक यातायातलाई स्थानीय तहबीच समझदारी गरेर दीगो संचालन गर्नुपर्नेमा जोड दिइन्। उनका अनुसार काठमाडौं उपत्यकाका विभिन्न स्थानीय तह जोडिने रुटमा सेवा विस्तार गर्दा काठमाडौं, ललितपुर, कीर्तिपुर, चन्द्रागिरि, भक्तपुर, ठिमी, सूर्यविनायकलगायत पालिकाले लागत साझेदारी गर्न सक्नेछन्।

    भक्तपुर नगरपालिकाका र मध्यपुर थिमी नगरपालिका दुवैले काठमाडौं महानगरपालिकाको प्रस्तावलाई सकरात्मक भएको भन्दै साझेदारीको लागि ईच्छुक रहेको जनाएका छन्। असोज ३ गतेदेखि काठमाडौं उपत्यकामा २८ वटा रात्रि बसले ६ वटा नयाँ रुटमा सेवा दिने गरि तयारी गरिएको छ।

    उपत्यकाको उत्तर-दक्षिण र पूर्व-पश्चिम दुवै भागलाई जोड्ने गरी सेवा थालनी गर्न लागिएको हो। यसअन्तर्गत गोदावरीदेखि बुढानीलकण्ठसम्म ६ वटा, भक्तपुरको जगातीदेखि रत्नपार्क हुँदै ठमेलसम्म ६ वटा, विमानस्थलदेखि चन्द्रागिरीको नागढुङ्गासम्म चार वटा बस, कीर्तिपुरदेखि काठमाडौंको नयाँ सडक नेपाल वायुसेवा निगमसम्म चार वटा र चक्रपथमा दुईतर्फी फन्को लगाउन आठ वटा बस सञ्चालन हुनेछन्।

    चक्रपथमा यातायात सेवा प्राप्त भएपछि एक ठाउँमा बस परिवर्तन गर्दा सेवा सञ्चालन गरेका हरेक ठाउँमा पुग्न सकिनेछ। यसरी यात्रा गर्दा अधिकतम ८० रुपियाँ भाडा लाग्नेछ।

    प्रतिक्रिया दिनुहोस

    सम्बन्धित समाचार

    ताजा अपडेट

    © 2026 kalikakhabar.com All right reserved Site By : Kalika Khabar