भदौ २३ मा फेरि सडक आन्दोलन गर्ने ‘कमन जेनजी नेपाल’को घोषणा

  • कालिका खवर
  • मङ्लबार, साउन २६, २०८३
  • काठमाडौं । ‘कमन जेनजी नेपाल’ले प्रधानमन्त्री बालेन्द्र (बालेन) शाह नेतृत्वको सरकारविरुद्ध पुनः सडक आन्दोलन गर्ने घोषणा गरेको छ। संगठनले आगामी भदौ २३ गते देशव्यापी प्रदर्शन गर्ने जनाएको छ।

    कमन जेनजी नेपालका अध्यक्ष विकेश साहले मंगलबार जारी गरेको प्रेस विज्ञप्तिमार्फत ‘फेक शासनविरुद्ध असल शासन’ भन्ने नारासहित आन्दोलन घोषणा गरेका हुन्। उनका अनुसार भदौ २३ गते काठमाडौंमा विशेष प्रदर्शन गरिनेछ भने देशका विभिन्न स्थानमा समेत कार्यक्रम सञ्चालन गरिनेछ।

    अध्यक्ष साहले वर्तमान सरकारलाई ‘असंवैधानिक, दमनकारी र फेक’ भएको आरोप लगाउँदै जनताका समस्या समाधान गर्न सरकार असफल भएको दाबी गरेका छन्। उनले विगतको जेनजी आन्दोलनको उद्देश्य केवल सरकार परिवर्तन नभई समग्र प्रणालीमा आमूल परिवर्तन रहेको उल्लेख गरेका छन्।

    साहले केही ‘छद्मभेषी र स्वार्थी समूह’ले जेनजी आन्दोलनलाई आफ्नो स्वार्थअनुकूल प्रयोग गरी केही व्यक्ति र सरकार परिवर्तनमा मात्र सीमित पारेको आरोपसमेत लगाएका छन्। आन्दोलनका क्रममा ज्यान गुमाएका तथा घाइते भएका व्यक्तिको अवस्था र परिवर्तनको अपेक्षा गरेका नागरिकको निराशाप्रति उनले चिन्ता व्यक्त गरेका छन्।

    विज्ञप्तिमा कमन जेनजी नेपालले वर्तमान सरकारमाथि सुकुम्बासी विस्थापन, युवामाथि बल प्रयोग, संवैधानिक संस्था तथा नागरिक अधिकारको अवमूल्यनलगायतका आरोप लगाएको छ। त्यस्तै, किसानका समस्या, मल अभाव, मूल्यवृद्धि, कर तथा ग्यास आपूर्तिजस्ता विषय समाधान गर्न सरकार असफल भएको संगठनको दाबी छ।

    साहले आफूहरूको आन्दोलन रहर नभई बाध्यता भएको दाबी गर्दै परिवर्तन चाहने युवा, राजनीतिक दल, नागरिक समाज तथा राष्ट्रवादी शक्तिलाई आन्दोलनमा एकजुट हुन आह्वान गरेका छन्।

    उनले विगतमा शक्तिशाली सरकारसमेत जनआन्दोलनका कारण छोटो समयमै ढलेको स्मरण गर्दै वर्तमान सरकारलाई पनि जनताको माग सम्बोधन गर्न चेतावनी दिएका छन्। ‘केपी ओलीलाई फालेझैँ बालेनलाई सडक आन्दोलनबाट फाल्छौं’ भन्ने अभिव्यक्ति दिँदै साहले सरकारविरुद्ध आन्दोलन थप सशक्त बनाउने संकेत गरेका छन्।

    गत भदौमा सामाजिक सञ्जाल बन्द तथा भ्रष्टाचारविरुद्ध भएको जेनजी आन्दोलनपछि तत्कालीन प्रधानमन्त्री केपी शर्मा ओलीले राजीनामा दिएका थिए। त्यसपछि सुशीला कार्की नेतृत्वको अन्तरिम सरकारले २०८२ फागुन २१ गते प्रतिनिधिसभा निर्वाचन गराएको थियो। निर्वाचनमा राष्ट्रिय स्वतन्त्र पार्टीले बहुमत हासिल गरेपछि बालेन्द्र शाहको नेतृत्वमा सरकार गठन भएको थियो।

    तर उक्त सरकारले जेनजी आन्दोलनका माग सम्बोधन गर्न नसकेको कमन जेनजी नेपालको आरोप छ। ಸಂಘठनले आगामी भदौ २३ गतेको प्रदर्शनमार्फत सरकारमाथि दबाब बढाउने जनाएको छ।

    प्रतिक्रिया दिनुहोस

    सम्बन्धित समाचार

    ताजा अपडेट

    © 2026 kalikakhabar.com All right reserved Site By : Kalika Khabar