अविरल वर्षापछि अवरुद्ध पृथ्वी राजमार्ग आजदेखि पूर्ण रूपमा खुल्ने, १ बजेदेखि सबै सवारी चल्न पाउने

  • कालिका खवर
  • बुधबार, अशोज १४, २०८३
  • काठमाडौं । अविरल वर्षाका कारण अवरुद्ध बनेको पृथ्वी राजमार्ग आज (बुधबार) देखि पूर्ण रूपमा सञ्चालनमा आउने भएको छ ।

    जिल्ला प्रशासन कार्यालय धादिङले सूचना जारी गर्दै थप पहिरो/अवरोध नआएमा बुधबार दिउँसो १ बजेदेखि सबै सवारीसाधन पूर्ण रूपमा सञ्चालनमा आउने जानकारी दिएको हो ।

    गत असोज ७ गते रातिदेखि परेको अविरल वर्षाका कारण पृथ्वी राजमार्गका विभिन्न स्थानमा पहिरो जानुका साथै सडक भासिएर यातायात अवरुद्ध भएको थियो । सडकमा थुप्रिएको पहिरो र अवरोधहरू हटाउने कार्य भइरहेको र हाल एकतर्फी रूपमा मात्र सवारी आवागमन सुचारु रहेको प्रशासनले जनाएको छ ।

    “गत असोज ७ गते रातिदेखि परेको अविरल वर्षाका कारण पृथ्वी राजमार्गका विभिन्न स्थानमा पहिरो जानुका साथै सडक भासिएर यातायात अवरुद्ध भएको थियो,” प्रशासनले जारी गरेको सूचनामा भनिएको छ, “थप पहिरो/अवरोध नआएमा बुधबार दिउँसो १ बजेदेखि सबै सवारीसाधन पूर्ण रूपमा सञ्चालनमा आउने जानकारीका लागि यो सूचना प्रकाशित गरिएको छ ।”

    हाल वर्षा रोकिएको भए तापनि राजमार्गका विभिन्न स्थानहरूमा पहिरोको जोखिम कायमै छ । जुनसुकै समयमा पनि पहिरो झर्न सक्ने सम्भावना रहेकाले प्रशासनले सम्पूर्ण सवारी चालक, यात्री तथा सर्वसाधारणहरूलाई अत्यन्त सावधानीपूर्वक यात्रा गर्न अनुरोध गरेको छ ।

    साथै, सवारीसाधन चलाउँदा ट्राफिक नियम र सडक अनुशासनको पूर्ण रूपमा पालना गर्न समेत अनुरोध गरेको छ ।

    प्रतिक्रिया दिनुहोस

    सम्बन्धित समाचार

    ताजा अपडेट

    © 2026 kalikakhabar.com All right reserved Site By : Kalika Khabar