अविरल वर्षा र हिमपातले हुम्लाका मुख्य तथा ग्रामीण सडक ठप्प, जनजीवन प्रभावित

  • कालिका खवर
  • बिहिबार, अशोज १५, २०८३
  • हुम्ला । अविरल वर्षासँगै आएको बाढी, पहिरो र हिमपातका कारण हुम्लाका मुख्य तथा ग्रामीण सडक सञ्जाल पूर्ण रूपमा अवरुद्ध भएका छन् । चीनसँगको सीमा जोड्ने सिमकोट–हिल्सा सडक, कर्णाली करिडोरका साथै जिल्लाका सातवटै गाउँपालिका जोड्ने सडकहरूमा व्यापक क्षति पुगेको छ ।

    जिल्ला प्रहरी कार्यालयका प्रमुख प्रहरी नायब उपरीक्षक शङ्कर खड्काका अनुसार सडकका विभिन्न स्थानमा पहिरो र ठूला ढुङ्गा खसेका छन् भने बाढीले कल्भर्ट लगायतका संरचना बगाएको छ । सदरमुकाममा विद्युत् आपूर्ति बन्द भएकाले क्षतिको पूर्ण विवरण सङ्कलन गर्न कठिनाइ भइरहेको प्रहरीले जनाएको छ ।

    कर्णाली करिडोरअन्तर्गत कवाडीदेखि हिल्सासम्मका विभिन्न स्थानमा पहिरोले सडक ठप्प पारेको छ । हाल कवाडी–गिउसी सडकखण्डको पहिरो पन्छाएर सञ्चालनमा ल्याइएको छ भने माथिल्लो खण्ड पनि चाँडै खुलाउने गरी निरन्तर काम भइरहेको छ ।

    त्यस्तै, उत्तरी हुम्लाको नाम्खा गाउँपालिकास्थित नारा लेक र लिमी जाने न्यालु लेकमा करिब साढे तीन फिटसम्म हिउँ जमेकाले ती सडकसमेत पूर्ण रूपमा बन्द भएका छन् । हिउँ नपन्छाएसम्म ती सडक सञ्चालनमा ल्याउन नसकिने प्रहरीको भनाइ छ ।

    प्रमुख जिल्ला अधिकारी भोलानाथ गुरागाईंका अनुसार ग्रामीण सडकका ७० भन्दाबढी स्थानमा पहिरो खसेको छ । अवरुद्ध सडक सञ्चालनका लागि जिल्ला प्रशासन कार्यालयमा नियमित कमान्ड पोस्टको बैठक बसी सबै गाउँपालिकासँग समन्वय भइरहेको सहायक प्रमुख जिल्ला अधिकारी चन्द्रवीर शाहीले जानकारी दिए ।

    सडक अवरोधकै कारण असोज १० गतेका लागि तय गरिएको नेपाली कांग्रेसको प्रदेश अधिवेशन तीन दिन पछि धकेलिएर असोज १३ गते मात्र सम्पन्न भएको थियो । तल्लो क्षेत्रबाट सिमकोट पुग्ने प्रतिनिधिहरू सवारीसाधन नचल्दा ठाउँ-ठाउँमा पैदल हिँड्न बाध्य भएका थिए ।

    सडक सञ्जाल बिच्छेद भएपछि हुम्लामा खाद्यान्न तथा दैनिक उपभोग्य सामग्री ढुवानी, बिरामीको आवागमन र अत्यावश्यक सेवाहरू गम्भीर रूपमा प्रभावित बनेका छन् ।

    प्रतिक्रिया दिनुहोस

    सम्बन्धित समाचार

    ताजा अपडेट

    © 2026 kalikakhabar.com All right reserved Site By : Kalika Khabar