अस्पतालभित्रको खाजा घरमा अनुगमन, अखाद्य कागजमा राखिएको २०० ग्राम निम्की नष्ट

  • कालिका खवर
  • सोमवार, साउन २५, २०८३
  • काठमाडौं । खाद्य प्रविधि तथा गुण नियन्त्रण विभागले प्राप्त गुनासोका आधारमा काठमाडौंका विभिन्न खाद्य व्यवसायमा आकस्मिक बजार अनुगमन गरेको छ। विभागले खाद्य स्वच्छता तथा गुणस्तर ऐन, २०८१ बमोजिम अनुगमन गर्दै विभिन्न खाद्य व्यवसायलाई सुधारका लागि निर्देशन दिएको छ।

    विभागका अनुसार २०८३/०४/२१ गते सिंहदरबारस्थित काठमाडौं महानगरपालिका–१० मा रहेका दुई खाद्य व्यवसायमा अनुगमन गरिएको थियो। किसु चमेना गृहमा खानेकुरामा कीरा भेटिएको भन्ने गुनासो आएपछि निरीक्षण गर्दा सरसफाइको अवस्था सामान्य नरहेको, भान्सा तथा भण्डारण कक्ष अव्यवस्थित रहेको र भाँडा सफा गर्ने स्थान तथा भान्सा सँगै रहेको पाइएको विभागले जनाएको छ। फ्रिजमा खाद्य पदार्थ भण्डारणको अवस्था पनि सन्तोषजनक नरहेको उल्लेख छ।

    विभागले किसु चमेना गृहलाई नियमित सरसफाइ गर्न, भान्सा तथा भण्डारण कक्ष व्यवस्थित राख्न र पकाइएका खानेकुरा पूर्ण रूपमा छोपेर राख्न निर्देशन दिएको छ।

    त्यस्तै, सिंहदरबारकै मनकामना आर.एस.जेभीमा फापरको बारा र तरकारी खाँदा सिसा जस्तो धातु भेटिएको भन्ने गुनासोका आधारमा अनुगमन गरिएको थियो। निरीक्षणका क्रममा सरसफाइ सामान्य रहेको, फोहोरदानी खुला राखिएको तथा खाद्य पदार्थ व्यवस्थित रूपमा राखिएको पाइएको विभागले जनाएको छ। फ्रिज र भण्डारण कक्षको अवस्था भने सन्तोषजनक रहेको थियो।

    त्यस व्यवसायलाई पनि नियमित सरसफाइ गर्न, पकाइएका खानेकुरा छोपेर राख्न तथा बारा र रोटी बनाउन तयार पारिएको काँचो पीठो व्यवस्थित रूपमा भण्डारण गर्न निर्देशन दिइएको छ।

    यसैगरी, २०८३/०४/२२ गते कागेश्वरी मनोहरा नगरपालिका–६ स्थित नगर अस्पतालमा सञ्चालित खाडा देवी खाजा घरमा पनि अनुगमन गरिएको थियो। अखाद्य वस्तु बिक्री–वितरण गरिएको भन्ने गुनासोपछि गरिएको निरीक्षणमा मसिनो पत्रपत्रिकामा निम्कीजस्ता खाद्य पदार्थ राखेर बिक्री गरिएको, पूर्ण लेबल विवरण नभएका खाद्य पदार्थ भण्डारण गरिएको तथा फ्रिजमा खाद्य पदार्थ अव्यवस्थित रूपमा राखिएको पाइएको विभागले जनाएको छ।

    खाजा घरमा कीट नियन्त्रणको अवस्था व्यवस्थित नरहेको तथा भान्सामै भाँडा सफा गर्ने र कच्चा पदार्थ भण्डारण गर्ने गरिएको समेत भेटिएको थियो। अनुगमनका क्रममा मसिनो पत्रपत्रिकामा राखिएको करिब २०० ग्राम निम्की अस्पताल प्रशासनको रोहबरमा नष्ट गरिएको विभागले जनाएको छ। साथै, देखिएका कैफियत सुधार गरी प्रमाणसहित १५ दिनभित्र विभागमा उपस्थित हुन निर्देशन दिइएको छ।

    त्यस्तै, नागार्जुन–४ स्थित ए वान गुदपाक एण्ड पुष्टकारी भण्डारमा गुँदपाकमा ढुसी तथा लेउ भेटिएको भन्ने गुनासोका आधारमा निरीक्षण गरिएको थियो। निरीक्षणमा गुँदपाकमा त्यस्तो कैफियत नदेखिए पनि प्याकिङ क्षेत्रमा ढोकाको जाली च्यातिएको, काठ भाँचिएको, सरसफाइ सन्तोषजनक नरहेको तथा कच्चा पदार्थ अव्यवस्थित रूपमा भण्डारण गरिएको पाइएको विभागले जनाएको छ।

    विभागले उक्त व्यवसायलाई खाद्य स्वच्छता कायम गर्न तथा देखिएका कैफियत तत्काल सुधार गर्न निर्देशन दिएको छ। थप अनुसन्धानका लागि गुँदपाकको नमूनासमेत संकलन गरिएको विभागले जनाएको छ।

    विभागका अनुसार उक्त दुई दिनमा कुल चारवटा खाद्य व्यवसायमा अनुगमन गरिएको छ। अनुगमन खाद्य प्रविधि तथा गुण नियन्त्रण विभागकी वरिष्ठ खाद्य अनुसन्धान अधिकृत डा. बालकुमारी शर्माको नेतृत्वमा गरिएको विवरणमा उल्लेख छ।

    प्रतिक्रिया दिनुहोस

    सम्बन्धित समाचार

    © 2026 kalikakhabar.com All right reserved Site By : Kalika Khabar