अन्सारीको कडा प्रश्न– ‘बदल्यौ कांग्रेस’ कि पुरानै शैलीको नयाँ रंग ?

  • कालिका खवर
  • मङ्लबार, अशोज ६, २०८३
  • काठमाडौं । सुनसरी–४ का डा. अबुल हुसेन अन्सारीले नेपाली कांग्रेसका नेता ज्ञानेन्द्रबहादुर कार्कीको राजनीतिक सक्रियता र कांग्रेसको पुस्तान्तरणको विषयलाई लिएर प्रश्न उठाएका छन्।

    अन्सारीले सामाजिक सञ्जालमार्फत ‘होसियार सुनसरीवासी! फेरि उही पुरानो खेल त सुरु हुँदै छ?’ भन्दै कार्की पुनः केन्द्रीय प्रतिनिधि बनेको विषयमा टिप्पणी गरेका हुन्। उनले कार्कीलाई पुनः केन्द्रमा ल्याइनु कांग्रेसमा भनिएको पुस्तान्तरण र परिवर्तनसँग कति मेल खान्छ भन्ने प्रश्न गरेका छन्।

    अन्सारीले कांग्रेसमा नयाँ पुस्ताको नेतृत्व र ‘बदल्यौ कांग्रेस, बदल्छौ देश’ भन्ने नाराबारे पनि प्रश्न उठाउँदै नयाँ पुस्ताको कांग्रेस निर्माण गर्ने भनिए पनि पुरानै पुस्ताका नेताहरूलाई केन्द्रमा राखिएको दाबी गरेका छन्। उनका अनुसार नारा र राजनीतिक शैलीबीचको अन्तरबारे पार्टीभित्र समीक्षा आवश्यक छ।

    उनले सुनसरी–४ को पछिल्लो निर्वाचन परिणामलाई पनि आफ्नो तर्कको आधार बनाएका छन्। २०८२ सालको प्रतिनिधिसभा निर्वाचनमा राष्ट्रिय स्वतन्त्र पार्टीका दीपककुमार साह ४२ हजार ७७१ मतसहित निर्वाचित भएका थिए भने कांग्रेसका ज्ञानेन्द्रबहादुर कार्कीले १६ हजार ५८७ मत प्राप्त गरेका थिए।

    अन्सारीले उक्त निर्वाचन परिणामले जनताको धारणा स्पष्ट गरेको उल्लेख गर्दै कांग्रेस नेतृत्वले त्यसबाट पनि पाठ सिक्नुपर्ने बताएका छन्। उनले ‘नारा नयाँ, अनुहार पुराना, निर्णय पुरानै र शैली पुरानै भयो भने त्यो परिवर्तन होइन’ भन्ने धारणा राखेका छन्।

    साथै उनले राजनीतिक संरक्षण र आर्थिक पारदर्शितासम्बन्धी उठ्ने प्रश्नको जवाफ प्रमाणका आधारमा दिनुपर्ने बताएका छन्। ‘आरोपले होइन, प्रमाणले फैसला हुनुपर्छ’ भन्दै अन्सारीले प्रश्न उठिसकेपछि त्यसको जवाफ दिनुपर्नेमा जोड दिएका छन्।

    कार्कीलाई सुनसरी–४ बाट कांग्रेसले २०८२ सालको प्रतिनिधिसभा निर्वाचनका लागि उम्मेदवारका रूपमा सिफारिस गरेको तथ्यसमेत सार्वजनिक भएको थियो।

    अन्सारीको पछिल्लो अभिव्यक्ति कांग्रेसभित्रको नेतृत्व, पुस्तान्तरण र सुनसरी–४ को आगामी राजनीतिक भूमिकाबारे केन्द्रित रहेको देखिन्छ।

    प्रतिक्रिया दिनुहोस

    सम्बन्धित समाचार

    ताजा अपडेट

    © 2026 kalikakhabar.com All right reserved Site By : Kalika Khabar