अमलेखगञ्जको होटललाई २ लाख जरिवाना, म्याद गुज्रेका खाद्य सामग्री नष्ट

  • कालिका खवर
  • आइतवार, साउन २४, २०८३
  • बारा । बाराको जीतपुरसिमरा उपमहानगरपालिका–२२, अमलेखगञ्जस्थित एक होटलमा अनुगमनका क्रममा म्याद गुज्रेका खाद्य सामग्रीसहित विभिन्न कैफियत फेला परेपछि २ लाख रुपैयाँ जरिवाना गरिएको छ।

    खाद्य प्रविधि तथा गुण नियन्त्रण कार्यालय, जनकपुरधाम, धनुषाले मधेश प्रदेशको गृह, सञ्चार तथा कानुन मन्त्रालयको नेतृत्वमा २०८३ साउन २० गते होटल तथा रेष्टुरेन्टको अनुगमन गरेको थियो। अनुगमनका क्रममा होटल क्वीक ट्वेन्टी एण्ड रिभर साइड प्रा.लि. मा खाद्य स्वच्छता तथा गुणस्तरसम्बन्धी विभिन्न कमजोरी फेला परेको विभागले जनाएको छ।

    अनुगमनका क्रममा होटलको भान्सा तथा भण्डारण कक्षमा उपभोग्य मिति समाप्त भएका खाद्य पदार्थ फेला परेका थिए। त्यस्तै, लेबलमा छालाको हेरचाहमा प्रयोग हुने उल्लेख भएको ‘गुलाब जल/रोज वाटर’ बिरयानी बनाउन प्रयोग भइरहेको पाइएको थियो। लेबल नभएका खाद्य पदार्थसमेत भान्सा तथा भण्डारण कक्षमा भेटिएका थिए।

    होटलमा फोहोरदानी खुला अवस्थामा राखिएको, खाद्य तथा अखाद्य सामग्री सँगै भण्डारण गरिएको र विभिन्न प्रकारका डिटरजेन्ट्स खाद्य पदार्थसँगै राखिएको पनि अनुगमनका क्रममा भेटिएको विभागले जनाएको छ। साथै, होटलको दर्ता प्रमाणपत्रसमेत दुरुस्त नरहेको पाइएको थियो।

    उक्त कैफियतका आधारमा जिल्ला प्रशासन कार्यालय, बाराका सहायक प्रमुख जिल्ला अधिकारीले उपभोक्ता संरक्षण ऐन, २०७५ बमोजिम होटललाई २ लाख रुपैयाँ जरिवाना गरेका छन्। साथै, उपभोग्य मिति समाप्त भएका करिब ४ हजार १३५ रुपैयाँ बराबरका खाद्य पदार्थ अनुगमनस्थलमै जफत गरी नष्ट गरिएको छ।

    अनुगमन टोलीले होटलमा देखिएका खाद्य स्वच्छता तथा गुणस्तरसम्बन्धी कमजोरीहरू यथाशीघ्र सुधार गर्न निर्देशनसमेत दिएको छ। विभागका अनुसार उक्त दिन एक वटा मात्र खाद्य व्यवसाय अनुगमन गरिएको थियो।

    प्रतिक्रिया दिनुहोस

    सम्बन्धित समाचार

    ताजा अपडेट

    © 2026 kalikakhabar.com All right reserved Site By : Kalika Khabar