मौलिक संस्कृति जोगाउन प्रधानमन्त्री बालेनको आग्रह

  • कालिका खवर
  • मङ्लबार, कार्तिक २४, २०८३
  • काठमाडौँ ।  प्रधानमन्त्री बालेन शाहले नेपाल संवत् ११४७ तथा म्ह पूजाको अवसरमा देश तथा विदेशमा रहेका सम्पूर्ण नेपालीमा हार्दिक मंगलमय शुभकामना व्यक्त गरेका छन्।

    सामाजिक सञ्जालमार्फत शुभकामना सन्देश जारी गर्दै प्रधानमन्त्री शाहले राष्ट्रिय विभूति शङ्खधर साख्वाःले देशभरका जनतालाई ऋणमुक्त पारेर सुरु गरेको नेपाल संवत् चन्द्रमामा आधारित नेपालको मौलिक समयचक्र र पहिचान भएको उल्लेख गरेका छन्।

    प्रधानमन्त्री शाहले म्ह पूजाको मर्मलाई आत्मशुद्धि र चेतनाको बोधसँग जोड्दै यसको सांस्कृतिक महत्वबारे पनि चर्चा गरेका छन्। ‘म्ह’ अर्थात् आफ्नै देह र शरीरभित्रको चेतनालाई साक्षी राखेर अष्टचिरञ्जीवीको प्रतीक मण्डपमा आफैँले आफैँलाई पूजा गर्ने परम्पराले आत्मशुद्धि र चेतनाको बोध गराउने उनले बताएका छन्।

    मौलिक म्ह पूजा परम्पराले नेवार समुदायभित्र आपसी सद्भाव, आत्मबल र पुर्ख्यौली संस्कृतिको जगेर्ना गर्दै जातीय एकतालाई अझ प्रगाढ बनाएको प्रधानमन्त्री शाहको भनाइ छ। उनले यसलाई नेपाली समाजका लागि गौरवको विषयसमेत बताएका छन्।

    प्रधानमन्त्री शाहले आजैका दिन मनाइने गोवर्धन पूजा तथा हली तिहारको पनि स्मरण गरेका छन्। भगवान् श्रीकृष्णले गोवर्धन पर्वत उठाएर द्वारिकावासीलाई बचाएको पौराणिक मान्यतासँगै कृषिकर्मका सहयात्री गोरुलाई पिठो, नुन र बावर खुवाउने तथा हलो, फालीसहित कृषि औजारको पूजा गर्ने परम्परा रहेको उनले उल्लेख गरेका छन्।

    भैलो र देउसीका मीठा भाका तथा आशीर्वादले छरछिमेकमा आपसी आत्मीयता र सद्भाव बढाउने उल्लेख गर्दै प्रधानमन्त्री शाहले नेपालीका मौलिक चाडपर्वले रिसराग बिर्साएर सामाजिक एकता र सहिष्णुताको भावना थप बलियो बनाउन प्रेरित गर्ने विश्वास व्यक्त गरेका छन्।

    प्रधानमन्त्री शाहले नेपाल संवत् ११४७, न्हूदँया भिन्तुना तथा म्ह पूजाको पवित्र अवसरमा सबै नेपालीको जीवनमा सुख, शान्ति, समृद्धि र उत्तरोत्तर प्रगतिको कामना गरेका छन्।

    प्रतिक्रिया दिनुहोस

    सम्बन्धित समाचार

    © 2026 kalikakhabar.com All right reserved Site By : Kalika Khabar