कांग्रेसको कार्यसंस्कृति बदल्न महामन्त्रीमा मेरो दाबी : नैनसिंह महर

  • कालिका खवर
  • बुधबार, अशोज २१, २०८३
  • काठमाडौँ । नेपाली कांग्रेसको १५औँ महाधिवेशनको सरगर्मी बढ्दै जाँदा नेता नैनसिंह महरले महामन्त्री पदमा आफ्नो दाबी प्रस्तुत गरेका छन्। पार्टीको कार्यसंस्कृति बदल्ने र संगठनलाई परिणाममुखी बनाउने संकल्पसहित मैदानमा उत्रिएका महरले सबै धारलाई जोडेर कांग्रेसलाई नयाँ युग सुहाउँदो बनाउने अठोट व्यक्त गरेका हुन्।

    महरले महामन्त्रीको कार्यालयलाई उत्कृष्ट कार्यसम्पादन केन्द्र बनाउने योजना अघि सारेका छन्। पार्टीभित्रको निर्णय र कार्यान्वयनबिचको दूरी घटाउनु आफ्नो मुख्य एजेन्डा रहेको उनले स्पष्ट पारेका छन्। ‘निर्णय समयमा होस्, जिम्मेवारी स्पष्ट होस् र कार्यकर्ताले आफ्नो योगदानको मूल्य देख्न सकुन्,’ उनले भने।

    केन्द्र र तल्लो तहका कार्यकर्ताबिच नियमित संवाद हुने प्रणाली विकास गरी कसको कस्तो क्षमता छ भन्ने पहिचान गर्ने उनको योजना छ। लामो समय पार्टीभित्र एउटा निश्चित गुटमा सक्रिय रहेको आरोप लाग्ने गरेका महर अहिले सिंगो पार्टीलाई आफ्नो कार्यक्षेत्र बताउँछन्।

    महाधिवेशनपछि प्रतिस्पर्धाको ताप सकिने र सबैलाई एउटै साझा यात्रामा जोड्न सक्नु नै नेतृत्वको वास्तविक परीक्षा हुने उनको तर्क छ। संगठनमा एकता निष्पक्ष व्यवहारबाट मात्र टिक्ने भएकाले नियम सबैका लागि समान हुनुपर्नेमा उनले जोड दिएका छन्। निर्वाचनमा पद नपाएका योग्य कार्यकर्तालाई विषयगत परिषद् र नीति समूहमा आबद्ध गराएर उनीहरूको ज्ञानलाई पार्टीको हितमा प्रयोग गर्ने महरको रणनीति छ।

    नयाँ पुस्तामा राजनीतिप्रति देखिएको वितृष्णालाई कांग्रेसले गम्भीरतापूर्वक लिनुपर्ने महर बताउँछन्। युवालाई केवल चुनावमा भोट माग्न र भीड जम्मा गर्न मात्र प्रयोग गर्न नहुने उनको भनाइ छ। कृत्रिम बौद्धिकता, डिजिटल अर्थतन्त्र, जलवायु परिवर्तन र विश्व श्रम बजारजस्ता आधुनिक मुद्दालाई पार्टीको बहसमा ल्याउनुपर्नेमा उनले जोड दिएका छन्।

    देशभित्रै लगानीको सुरक्षा र रोजगारीको अवसर सिर्जना गर्न सके मात्र युवा पलायन रोक्न सकिने महरको निष्कर्ष छ। ‘युवाले त्यहाँ भविष्य देख्छन् जहाँ मेहनतको मूल्य हुन्छ र क्षमता प्रयोग गर्ने ठाउँ हुन्छ,’ उनले भने। विदेशमा रहेका नेपालीको पुँजी र सीपलाई पनि राष्ट्रिय शक्तिमा बदल्न सकिने उनको बुझाइ छ।

    लोकतान्त्रिक समाजवादलाई आजको समयअनुकूल व्याख्या गर्नुपर्ने आवश्यकता महरले औँल्याएका छन्। राज्यले आधारभूत सेवा र निष्पक्ष नियम सुनिश्चित गर्नुपर्ने तथा निजी क्षेत्रले रोजगारी र उत्पादन बढाउनुपर्ने उनी मान्छन्। उत्पादन र अवसर दुवैलाई सँगै नहेरेसम्म नेपालको आर्थिक समस्या समाधान नहुने उनले प्रस्ट पारेका छन्।

    हाल प्रतिपक्षमा रहेको कांग्रेसले सरकारको विरोध मात्र गर्ने नभई आफूलाई भावी शासन चलाउन योग्य बनाउनुपर्ने महरको धारणा छ। सरकारले गल्ती गर्दा तथ्यसहित प्रश्न उठाउने र राम्रो काम गर्दा समर्थन गर्ने आत्मविश्वास प्रतिपक्षमा हुनुपर्ने उनले बताए।

    सुदूरपश्चिमबाट उठेर केन्द्रीय नेतृत्वमा दाबी गरिरहेका उनले भूगोल कहिल्यै पनि प्रतिभाको बाधक बन्न नहुने सन्देश दिन खोजेका छन्। विगतको ऐतिहासिक विरासतको मात्र चर्चा गरेर अबको पुस्ता सन्तुष्ट नहुने भएकाले वर्तमानका ज्वलन्त प्रश्नको समाधान दिनु १५औँ महाधिवेशनको मुख्य कार्यभार रहेको महरले प्रस्ट पारेका छन्।

    अर्थतन्त्रलाई गति दिनेदेखि सार्वजनिक सेवा सुधार्नेसम्मका विषयलाई पार्टीको नीति र संगठनको क्षमतामा उतार्न सके मात्र कांग्रेस रूपान्तरण हुने उनको भनाइ छ।

    प्रतिक्रिया दिनुहोस

    सम्बन्धित समाचार

    ताजा अपडेट

    © 2026 kalikakhabar.com All right reserved Site By : Kalika Khabar