राहत सामग्री र खाद्य उद्योगमा अनुगमन, म्याद गुज्रिएको खाद्य पदार्थ र लेबलविहीन खुवा भेटियो

  • कालिका खवर
  • बुधबार, भदौ ३१, २०८३
  • काठमाडौं । खाद्य प्रविधि तथा गुण नियन्त्रण विभागले काठमाडौं उपत्यकामा गरेको अनुगमनका क्रममा म्याद गुज्रिएको दालमोठ, लेबलविहीन खुवा तथा पुराना र कुचिएका पानीका जार भेटिएको जनाएको छ।

    विभागले २०८३ भदौ २९ र ३० गते गरेको छुट्टाछुट्टै अनुगमनका क्रममा भक्तपुर, ललितपुर र काठमाडौंका खाद्य व्यवसाय तथा राहत सामग्रीको निरीक्षण गरेको हो।

    भोटेकोशी बाढीपीडितका लागि पठाउन तयारी अवस्थामा राखिएको राहत सामग्रीको निरीक्षण गर्दा चार प्याकेट दालमोठको उपभोग्य मिति सकिएको भेटिएको थियो। उक्त दालमोठ अन्य सामग्रीबाट छुट्याएर नष्ट गर्न राखिएको विभागले जनाएको छ। राहत सामग्री वितरण गर्दा असल वितरण अभ्यास अपनाउन पनि निर्देशन दिइएको छ।

    भक्तपुरको चाँगुनारायण नगरपालिका–७ स्थित तीन डेरी उद्योगको अनुगमनका क्रममा सैजु डेरीमा लेबल विवरण नभएको करिब २२ किलो खुवा भेटिएको थियो। विभागले उक्त खुवा जफत गरी नष्ट गरेको छ। सोही उद्योगले विभागबाट अनुमतिपत्र नलिई दही र पनिर उत्पादन गरी बिक्री–वितरण गरेको समेत पाइएको विभागले जनाएको छ।

    खरिपाटी डेरी र कालिका डेरीको भण्डारण कक्ष अव्यवस्थित रहेको पाइएको थियो। दुवै उद्योगलाई भण्डारण व्यवस्थित गर्न निर्देशन दिइएको छ। थप अनुसन्धानका लागि प्रशोधित दूधको नमुना पनि संकलन गरिएको छ।

    त्यस्तै, भक्तपुर नगरपालिका–२ स्थित एसएन टप बेभेरेज प्रा.लि.मा पुराना तथा कुचिएका पानीका जार प्रयोग भइरहेको पाइएको थियो। उद्योग परिसरमा रहेका पाँच थान पुराना तथा कुचिएका जार नष्ट गरिएको छ। प्रशोधन कक्षका पाइपमा लिकेज तथा भुइँमा लेउ लागेको पनि भेटिएको विभागले जनाएको छ। पानीको थप परीक्षणका लागि नमुना संकलन गरिएको छ।

    ललितपुर महानगरपालिका–२८ स्थित काठमाडौं डेरीमा दूध तताउँदा फाट्ने र गन्हाउने भन्ने गुनासोका आधारमा अनुगमन गरिएको थियो। उद्योगको प्रयोगशालामा गरिएको परीक्षणमा प्रशोधित दूधमा चिल्लो पदार्थको मात्रा ३ प्रतिशत रहेको र मापदण्डअनुकूल पाइएको विभागले जनाएको छ। तर, उद्योगको किट नियन्त्रण व्यवस्था पर्याप्त नभएकाले सुधार गर्न निर्देशन दिइएको छ।

    विभागका अनुसार अनुगमनका क्रममा खाद्य व्यवसायको अवस्था हेरी सामग्री नष्ट गर्ने, नमुना संकलन गरी प्रयोगशाला परीक्षण गर्ने तथा सुधारका लागि निर्देशन दिने काम गरिएको छ।

    प्रतिक्रिया दिनुहोस

    सम्बन्धित समाचार

    ताजा अपडेट

    © 2026 kalikakhabar.com All right reserved Site By : Kalika Khabar