सरकार समयमै गम्भीर नभए गरिब जनता महँगीको मारमा पर्ने निश्चित छ : सांसद अधिकारी

  • कालिका खवर
  • बिहिबार, भदौ २५, २०८३
  • काठमाडौँ। सत्तारुढ राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) सांसद लिमा अधिकारीले भोटेकोशी बाढीपछि सडक र सीमा नाका अवरुद्ध हुँदा मुलुकमा आपूर्ति सङ्कट र महँगीको जोखिम बढेको भन्दै सरकारलाई सचेत गराएकी छन् ।

    बिहीबार प्रतिनिधि सभाको शून्य समयमा बोल्दै अधिकारीले बाढीले सडक र पुल मात्र नभई हजारौँ नागरिकको घरबार, जीविकोपार्जन र बाँच्ने आधारसमेत खोसिएको बताइन् ।

    उनले विपत्तिबाट नागरिक सामान्य अवस्थामा फर्किन नपाउँदै आपूर्ति व्यवस्थामा अर्को सङ्कट देखिन थालेको उनको भनाइ थियो । तातोपानी र रसुवागढी नाका बन्द हुनुका साथै बीपी राजमार्ग र पृथ्वी राजमार्गको कृष्णभीर अवरुद्ध हुँदा दैनिक उपभोग्य वस्तुको ढुवानी प्रभावित भएको अधिकारीले उल्लेख गरिन् ।

    वैकल्पिक रूपमा कोरला नाका प्रयोग गर्नुपर्ने अवस्था आए पनि लामो भौगोलिक दूरी र जीर्ण सडकका कारण ढुवानी खर्च पाँच गुणासम्म बढेको अधिकारीले बताइन् । यसको प्रत्यक्ष असर चाडपर्वको समयमा बजार मूल्यमा पर्न सक्ने भन्दै उनले सरकारलाई समयमै आवश्यक कदम चाल्न आग्रह गरिन् ।

    ‘वैकल्पिक नाका कोरलातर्फको भौगोलिक दूरी र जीर्ण सडकले ढुवानी खर्च पाँच गुणासम्म महँगो छ। यसले चाडबाडमै उपभोग्य वस्तुको भाउ आकासिने निश्चित छ’, उनले भनिन्, ‘सरकारले बेलैमा ध्यान नदिए इन्धन, खाद्यान्न जस्ता अत्यावश्यक वस्तुको अभाव हुनेछ । कृत्रिम अभाव, कालोबजारी र मूल्यवृद्धिको मारमा गरिब नागरिक नै पर्नेछन्।’

    सम्बन्धित मन्त्रालयहरूबिच तत्काल समन्वय गरी नाकाहरू युद्धस्तरमा खुलाउन तथा आपूर्ति सहज बनाएर नागरिकलाई अभाव र महँगीको मारबाट जोगाउन माग गरिन्।

    प्रतिक्रिया दिनुहोस

    सम्बन्धित समाचार

    ताजा अपडेट

    © 2026 kalikakhabar.com All right reserved Site By : Kalika Khabar