सडकमा पैदलयात्रीको सुनको सिक्री लुट्ने र किन्ने चार जना पक्राउ

  • कालिका खवर
  • मङ्लबार, भदौ २, २०८३
  • काठमाडौँ । उपत्यकाका विभिन्न स्थानमा पैदलयात्री महिला तथा जेष्ठ नागरिकलाई निशाना बनाएर सुनको सिक्री लुटपाट गर्ने कार्यमा संलग्न चार जनालाई प्रहरीले पक्राउ गरेको छ। काठमाडौँ उपत्यका अपराध अनुसन्धान कार्यालयबाट खटिएको प्रहरी टोलीले साउन ३१ गते उपत्यकाका विभिन्न स्थानबाट उनीहरूलाई नियन्त्रणमा लिएको हो।

    पक्राउ पर्नेमा मोटरसाइकल चालक भोजपुरको रामप्रसाद राई गाउँपालिका-२ घर भई हाल काठमाडौँको कोटेश्वर बस्ने ३२ वर्षका योगेन्द्र तामाङ र सिक्री तान्ने काममा संलग्न रामेछापको दोरम्बा गाउँपालिका-२ ढोईगाउ घर भई हाल पेप्सिकोला बस्ने ३६ वर्षका काले भन्ने देबेन्द्र थापा मगर छन्।

    त्यसैगरी चोरीको सुन किन्ने कार्यमा संलग्न भोजपुरको रामप्रसाद राई गाउँपालिका-६ मालबासे घर भई हाल नरदेवी बस्ने ४० वर्षका मिलन बि.क. र भारतको कलकत्ता वेस्ट बंगाल घर भई हाल भेडासिंग बस्ने ४० वर्षका संजित सामन्तलाई पनि प्रहरीले पक्राउ गरेको छ।

    गत साउन २६ गते दिउँसो भक्तपुरको मध्यपुर थिमी-१ लोकन्थली बिग मार्ट नजिक र साउन ३० गते बिहान लोकन्थली हनुमान चौकमा मोटरसाइकलमा सवार दुई व्यक्तिले एक्लै बाटोमा हिडिरहेका महिला तथा जेष्ठ नागरिकको घाँटीमा रहेको सुनको सिक्री जबरजस्ती तानेर फरार भएका थिए।

    अनुसन्धानका क्रममा यो गिरोहले सुनसरीको धरान उपमहानगरपालिका-१५ पाथीभरा लाइनबाट साउन २२ गते दिउँसो पैदलयात्रीको करीब २.५ तोला र इटहरी उपमहानगरपालिका-२० तरहराबाट साउन ३१ गते बिहान पैदलयात्रीको ३ तोला सुनको सिक्री लुटेको खुलेको काठमाडौँ उपत्यका अपराध अनुसन्धान कार्यालयका सूचना अधिकारी एवम् प्रहरी उपरीक्षक रामेश्वर कार्कीले जानकारी दिए। पक्राउ परेकाहरूलाई थप अनुसन्धान तथा आवश्यक कारबाहीका लागि प्रहरी वृत्त ललितपुर पठाइएको छ।

    प्रतिक्रिया दिनुहोस

    सम्बन्धित समाचार

    ताजा अपडेट

    © 2026 kalikakhabar.com All right reserved Site By : Kalika Khabar