काठमाडौंका डेरी, क्यान्टिन र होस्टेलमा खाद्य विभागको आकस्मिक अनुगमन, कैफियत भेटिएपछि कारबाही

  • कालिका खवर
  • सोमवार, भदौ १, २०८३
  • काठमाडौं । खाद्य प्रविधि तथा गुण नियन्त्रण विभागले प्राप्त गुनासोका आधारमा काठमाडौंका विभिन्न खाद्य व्यवसायमा आकस्मिक बजार अनुगमन गरेको छ। विभागले खाद्य स्वच्छता तथा गुणस्तर ऐन, २०८१ बमोजिम गरिएको अनुगमनका क्रममा विभिन्न व्यवसायमा खाद्य स्वच्छता तथा गुणस्तरसँग सम्बन्धित कैफियत भेटिएको जनाएको छ।

    विभागका अनुसार २०८३ साल साउन २७ गते पेप्सीकोला क्षेत्रमा रहेका विभिन्न डेरी पसलमा गरिएको अनुगमनका क्रममा व्यवसाय दर्ता नगरी सञ्चालन गरिएको, लेबल नभएको घ्यू बिक्रीका लागि राखिएको, दुग्ध पदार्थ उत्पादन, ढुवानी तथा भण्डारणमा प्लास्टिकका भाँडा प्रयोग गरिएकोलगायतका समस्या भेटिएका छन्।

    अनुगमनका क्रममा कृष्णचन्द्र अधिकारीले सञ्चालन गरेको डेरी दर्ता नगरी सञ्चालनमा रहेको तथा लेबल नभएको एक किलोका ६ डब्बा र आधा किलोका ३ डब्बा घ्यू बिक्रीका लागि राखिएको पाइएको विभागले जनाएको छ। उक्त व्यवसाय तत्काल दर्ता गरेर मात्र सञ्चालन गर्न निर्देशन दिइएको छ।

    त्यस्तै, आमा डेरी एण्ड बेकरी क्याफे पनि दर्ता नगरी सञ्चालनमा रहेको पाइएको छ। उक्त पसलमा दूध तथा दुग्ध पदार्थको स्वच्छता एवं गुणस्तरसम्बन्धी निर्देशिकाका विभिन्न प्रावधान पूरा नभएको, प्लास्टिकका भाँडामा दुग्ध पदार्थ उत्पादन, ढुवानी तथा भण्डारण गरिएको, लेबल नभएको घ्यू तथा म्याद गुज्रिएको २० बोतल हल्का पेय पदार्थ भेटिएको विभागले जनाएको छ। ती सामग्री नष्ट गर्न निर्देशन दिइएको छ भने काठमाडौं महानगरपालिकाले १० हजार रुपैयाँ जरिवाना गरेको छ।

    शिव डेरी एण्ड बेकरीमा पनि दुग्ध पदार्थको उत्पादन, ढुवानी तथा भण्डारणमा प्लास्टिकका भाँडा प्रयोग गरिएको र खरिद तथा बिक्री बिल प्रयोग नगरेको पाइएको छ। व्यवसायलाई स्टेनलेस स्टीलका भाँडा प्रयोग गर्न तथा खरिद–बिक्री बिल अनिवार्य रूपमा प्रयोग गर्न निर्देशन दिइएको छ। सम्बन्धित व्यवसायहरूलाई सात दिनभित्र आवश्यक सुधार गरी कागजातसहित विभागमा उपस्थित हुन निर्देशन दिइएको छ।

    यसैगरी, २०८३ साल साउन २७ गते गुडविल क्याटरिङद्वारा सञ्चालित तिलगंगा आँखा अस्पतालको क्यान्टिनमा पनि अनुगमन गरिएको थियो। काँक्रो खाएपछि बिरामी भएको र विषादीको आशंका रहेको गुनासोका आधारमा गरिएको निरीक्षणमा सलाद निर्मलीकरण नगरेको, तरकारीको खरिद बिल उपलब्ध नगराएको, भान्सामा खुला फोहोरदानी राखिएको तथा फ्रिजमा काँचो र पाकेको मासु सँगै खुला रूपमा राखिएको पाइएको विभागले जनाएको छ।

    क्यान्टिनमा कृत्रिम खाद्य रंगसमेत भेटिएको र उक्त रंग प्रयोग गरी तयार पारिएको करिब पाँच प्लेट पकौडा बिक्रीका लागि राखिएको पाइएको थियो। साथै, खाद्य पदार्थ पटक–पटक तार्न प्रयोग गरिएको करिब तीन लिटर तेलसमेत भान्सामा भेटिएको विभागको विवरणमा उल्लेख छ। कृत्रिम रंग प्रयोग गरिएको पकौडा र पटक–पटक प्रयोग गरिएको तेल नष्ट गरिएको छ भने खाद्य स्वच्छता कायम गरी खाना तयार गर्न निर्देशन दिइएको छ।

    त्यस्तै, २०८३ साल साउन २८ गते राधे राधे बोइज होस्टेल, काठमाडौंमा पनि खाद्य गुणस्तरसम्बन्धी गुनासोका आधारमा अनुगमन गरिएको थियो। निरीक्षणका क्रममा भान्साको सरसफाइ सामान्य रहे पनि व्यक्तिगत सरसफाइ सन्तोषजनक नभएको, एक्जस्टको व्यवस्था प्रभावकारी नभएको, फ्रिजको प्रयोग अव्यवस्थित रहेको तथा भान्साकोठा अगाडि शौचालय रहेको पाइएको छ। भान्सामा पर्याप्त उज्यालोसमेत नभएको विभागले जनाएको छ।

    होस्टेललाई सरसफाइमा सुधार गर्न, प्रभावकारी रूपमा कीट नियन्त्रण गर्न, एक्जस्टको थप व्यवस्था गर्न तथा फ्रिज व्यवस्थित रूपमा प्रयोग गर्न निर्देशन दिइएको छ। भान्साकोठा अगाडिको शौचालय प्रयोग नगर्नसमेत निर्देशन दिइएको विभागले जनाएको छ। थप अनुसन्धानको प्रक्रिया काठमाडौं महानगरपालिकाले अगाडि बढाउने भएको छ।

    विभागको विवरणअनुसार उक्त दुई दिनमा कुल पाँच वटा खाद्य व्यवसायको अनुगमन गरिएको छ। अनुगमनबाट देखिएका कैफियत सुधार गर्न सम्बन्धित व्यवसायलाई निर्देशन दिइएको तथा खाद्य स्वच्छता र गुणस्तर कायम गर्न आवश्यक कारबाही अघि बढाइएको विभागले जनाएको छ।

    विभागका वरिष्ठ खाद्य अनुसन्धान अधिकृत डा. बालकुमारी शर्माद्वारा २०८३ भदौ १ गते जारी गरिएको विवरणमा खाद्य व्यवसायीहरूलाई खाद्य स्वच्छता, गुणस्तर र उपभोक्ता सुरक्षाका मापदण्ड अनिवार्य रूपमा पालना गर्न आग्रह गरिएको छ।

    प्रतिक्रिया दिनुहोस

    सम्बन्धित समाचार

    ताजा अपडेट

    © 2026 kalikakhabar.com All right reserved Site By : Kalika Khabar