विगत तीन दशकमा नेपालले उल्लेख्य प्रगति गर्‍यो : दङ्गाल

  • कालिका खवर
  • सोमवार, भदौ १, २०८३
  • काठमाडौँ। राष्ट्रिय सभामा नेपाल कम्युनिस्ट पार्टी (एमाले) का संसदीय दलका नेता प्रा. डा. प्रेमप्रसाद दङ्गालले विगत तीन दशकमा नेपालले उल्लेख्य प्रगति गरेको बताएका छन्।

    राष्ट्रिय सभाको सोमबारको बैठकमा मुलुकमा केही पनि काम भएको छैन भन्ने नकारात्मक भाष्य निर्माण गर्न खोजिएको भन्दै उनले विभिन्न सामाजिक तथा आर्थिक सूचकहरूका आधारमा नेपालले फड्को मारेको दाबी गरेका हुन्।

    नेता दङ्गालले प्रस्तुत गरेको तथ्याङ्क अनुसार वि.सं. २०४७ सालमा नेपालको कुल गार्हस्थ्य उत्पादन (जीडीपी) १ खर्ब २० अर्ब रुपैयाँ मात्र रहेकोमा हाल ६६ खर्ब पुगेको छ। सोही अवधिमा प्रतिव्यक्ति आय १ सय ८५ अमेरिकी डलरबाट वृद्धि भई १५३५ डलर पुगेको छ। आर्थिक वर्ष २०४७/४८ मा २३.५५ अर्ब रहेको वार्षिक बजेट हाल २१ खर्ब २४ अर्बभन्दा माथि पुगेको जानकारी उनले दिएका छन्।

    विश्व बैंकको प्रतिवेदनलाई उद्धृत गर्दै दङ्गालले नेपालमा चरम गरिबी ५५ प्रतिशतबाट घटेर ०.३७ प्रतिशतमा झरेको उल्लेख गरेका छन्। यस्तै निरपेक्ष गरिबी ४२ प्रतिशतबाट २०.२७ प्रतिशतमा आएको छ। विगत दुई दशकमा औसत आर्थिक वृद्धिदर ४ प्रतिशतको हाराहारीमा रहेको र आर्थिक वर्ष २०७३/७४ मा ८.६ प्रतिशतसम्म पुगेर नेपाल विश्वका तीव्र आर्थिक वृद्धि गर्ने १० देशभित्र पर्न सफल भएको उनले स्मरण गराएका छन्।

    पूर्वाधार क्षेत्रको प्रगतिबारे बोल्दै उनले २०४७ सालमा ८ हजार ३२८ किलोमिटर रहेको सडक सञ्जाल हाल १ लाख ४ हजार किलोमिटर पुगेको बताएका छन्। सञ्चार क्षेत्रमा प्रति ३ हजार नागरिक बराबर एक टेलिफोन रहेकोमा हाल प्रतिनागरिक एउटा टेलिफोनको पहुँच पुगेको छ।

    ऊर्जा क्षेत्रमा ३५ वर्षअघि २२७ मेगावाट रहेको जडित क्षमता हाल ४ हजार १०५ मेगावाट पुगेको छ। हाल ९९.१ प्रतिशत जनसङ्ख्यामा विद्युत् सेवा पुगेको र नेपालले भारततर्फ विद्युत् निर्यात समेत सुरु गरिसकेको उनले बताएका छन्। यस्तै खानेपानीको पहुँच ३३ प्रतिशतबाट ९७ प्रतिशत र शौचालयको सुविधा २२ प्रतिशतबाट ९४ प्रतिशत पुगेको तथ्याङ्क उनले प्रस्तुत गरेका छन्।

    दङ्गालका अनुसार नेपाली नागरिकको औसत आयु ५५ वर्षबाट बढेर ७१.३ वर्ष पुगेको छ। मातृ मृत्युदर प्रति लाख ८५० बाट १५१ मा र बाल मृत्युदर प्रति हजार १३९ बाट २७ मा झरेको छ। शिक्षा क्षेत्रमा साक्षरता दर ३९.६ बाट ७६ प्रतिशत पुगेको छ।

    मानव विकास सूचकाङ्कमा नेपालले ०.४० बाट सुधार गरी हाल ०.६२२ पुर्‍याएको छ, जसले नेपाललाई ‘निम्न’ बाट ‘मध्यम’ मानव विकास भएको मुलुकको श्रेणीमा उकालेको छ। दिगो विकास लक्ष्यका सूचकाङ्कमा नेपाल विश्वका १६७ राष्ट्रमध्ये ८५ औँ स्थानमा रहेको छ।

    कृषिमा यान्त्रीकरणको उल्लेख गर्दै उनले १ प्रतिशतबाट बढेर ४० प्रतिशत परिवारले ट्याक्टर प्रयोग गरिरहेको र धान उत्पादन ३३ लाख मेट्रिक टनबाट करिब ६० लाख मेट्रिक टन पुगेको जानकारी दिएका छन्। सिँचाइका क्षेत्रमा रानी जमरा कुलरिया, सिक्टा, भेरी बबई र सुनकोसी मरीन जस्ता ठुला आयोजनाहरू सम्पन्न हुने चरणमा रहेको उनले बताएका छन्।

    प्रतिक्रिया दिनुहोस

    सम्बन्धित समाचार

    ताजा अपडेट

    © 2026 kalikakhabar.com All right reserved Site By : Kalika Khabar