एमाले र नेकपा सहकार्य : सुदूरपश्चिममा खगराज भट्ट मुख्यमन्त्री नियुक्त

  • कालिका खवर
  • शुक्रबार, साउन २९, २०८३
  • धनगढी। नेपाली कम्युनिस्ट पार्टी (नेकपा) र नेकपा एमालेबीच प्रदेश सरकारको नेतृत्व बाँडफाँट गर्ने पूर्वसहमतिअनुसार सुदूरपश्चिम प्रदेशको मुख्यमन्त्रीमा नेकपाका संसदीय दलका नेता खगराज भट्ट नियुक्त भएका छन्। प्रदेश प्रमुख नजिर मियाँले संविधानको धारा १६८(२) बमोजिम भट्टलाई शुक्रबार मुख्यमन्त्री नियुक्त गरेका हुन्। उनले एमाले संसदीय दलका नेता तथा पूर्वमुख्यमन्त्री राजेन्द्रसिंह रावलको समर्थनमा शुक्रबार बिहान प्रदेश प्रमुखसमक्ष सरकार गठनको दाबी पेस गरेका थिए। यसअघि मुख्यमन्त्री कमलबहादुर शाहले पदबाट राजीनामा दिएपछि प्रदेश प्रमुखले नयाँ सरकार गठनका लागि शुक्रबार बिहान ११ बजेसम्म दाबी पेस गर्न आह्वान गरेका थिए। तोकिएको समयभित्रै भट्टले आवश्यक समर्थनसहित दाबी प्रस्तुत गरेका थिए। भट्टको नियुक्तिसँगै शुक्रबार दिउँसो ३ बजे मुख्यमन्त्री तथा मन्त्रीहरूको पद तथा गोपनीयताको शपथ हुने कार्यक्रम तय गरिएको छ। शपथ लगत्तै सानो आकारको मन्त्रिपरिषद् गठन गर्ने तयारी पनि गरिएको स्रोतले जनाएको छ। नेकपा र एमालेबीच भएको सत्ता सहकार्यको समझदारीअनुसार सुदूरपश्चिममा मुख्यमन्त्रीको नेतृत्व नेकपाले पाएको हो। यसअघि यही समझदारीअनुसार कर्णाली प्रदेशमा पनि नेकपाको भागमा परेको मुख्यमन्त्री पदमा नियुक्ति भइसकेको छ। सुदूरपश्चिममा भने नेकपाले मुख्यमन्त्रीसहित चार मन्त्रालय र एमालेले तीन मन्त्रालयको नेतृत्व गर्ने गरी मन्त्रालय बाँडफाँटमा सहमति भइसकेको छ। एमालेले आर्थिक मामिला, सामाजिक विकास तथा वन वा कृषि मन्त्रालयमध्ये एकको नेतृत्व गर्ने तयारी छ। एमालेको भागमा परेका तीन प्रदेश अझै अन्योलमै नेकपा–एमालेबीच प्रदेश सरकारको नेतृत्व बाँडफाँटको सहमति कार्यान्वयन भइरहे पनि एमालेको भागमा परेका तीन प्रदेशमा भने सरकार गठनको प्रक्रिया अझै अन्योलमै रहेको छ। कर्णाली र सुदूरपश्चिममा सहमति कार्यान्वयन भइसके पनि बाँकी प्रदेशहरूमा नेतृत्व हस्तान्तरण र सत्ता समीकरणका विषयमा सहमति पूर्ण रूपमा टुंगिन बाँकी रहेको नेताहरू बताउँछन्। यसअघि ३१ असारमा एमालेले बजेटप्रति असहमति जनाउँदै कमलबहादुर शाह नेतृत्वको सरकारलाई दिएको समर्थन फिर्ता लिएको थियो। त्यसपछि उत्पन्न राजनीतिक घटनाक्रमले अन्ततः सुदूरपश्चिममा नयाँ सरकार गठनको बाटो खुलेको हो।

    प्रतिक्रिया दिनुहोस

    सम्बन्धित समाचार

    ताजा अपडेट

    © 2026 kalikakhabar.com All right reserved Site By : Kalika Khabar