काठमाडौंमा बजार अनुगमन : ७ खाद्य व्यवसायमा सुधारका लागि निर्देशन, म्याद गुज्रिएका खाद्य वस्तु नष्ट

  • कालिका खवर
  • बुधबार, साउन २७, २०८३
  • काठमाडौं । खाद्य प्रविधि तथा गुण नियन्त्रण विभागले काठमाडौंमा बजार अनुगमनलाई तीव्रता दिएको छ । विभागले काठमाडौं महानगरपालिका तथा खाद्य प्रविधि तथा गुण नियन्त्रण डिभिजन कार्यालय, काठमाडौंसँगको संयुक्त टोलीमार्फत विभिन्न खाद्य व्यवसायको निरीक्षण अनुगमन गरी खाद्य स्वच्छता तथा गुणस्तर ऐन, २०८१ बमोजिम आवश्यक निर्देशन तथा कारबाही गरेको हो ।

    विभागका अनुसार २०८३ साउन २६ गते काठमाडौं महानगरपालिका–१०, बुद्धनगर क्षेत्रका चारवटा खाद्य व्यवसायमा अनुगमन गरिएको थियो । अनुगमनका क्रममा स्नेहा खाजा घर, को–फी टेल्स, लुम्बिनी खाजा घर र सृजना खाजा घरमा खाद्य स्वच्छता तथा सरसफाइसम्बन्धी विभिन्न कमजोरी भेटिएका थिए ।

    स्नेहा खाजा घरमा पुरानो चपिङ बोर्ड प्रयोग गरिएको, खुला फोहोरदानी राखिएको, भान्साको झ्याल खुला रहेको तथा फ्रिजमा खाद्य पदार्थ नछोपी राखिएको पाइएको विभागले जनाएको छ । साथै, कीट नियन्त्रण व्यवस्थित नभएको र सरसफाइसमेत सन्तोषजनक नरहेको पाइएपछि भान्सा सफा राख्न, नयाँ चपिङ बोर्ड प्रयोग गर्न, झ्यालमा जाली राख्न तथा ढक्कनसहितको फोहोरदानी प्रयोग गर्न निर्देशन दिइएको छ ।

    त्यस्तै, को–फी टेल्समा उपभोग्य मिति समाप्त भएको एक थान ह्विपिङ क्रिम, एक थान फ्लेभर्ड सिरप र एक थान टिमुरको छोप फेला परेको थियो । ती खाद्य वस्तु नष्ट गरिएको विभागले जनाएको छ । व्यवसायलाई खाद्य स्वच्छता कायम गर्न, फ्रिजमा खाद्य पदार्थ छोपेर राख्न तथा नियमित रूपमा कीट नियन्त्रण गर्न निर्देशन दिइएको छ ।

    लुम्बिनी खाजा घरमा सरसफाइ सन्तोषजनक नरहेको तथा फ्रिजमा पकाएको र नपकाएको खाद्य पदार्थ अव्यवस्थित रूपमा सँगै राखिएको पाइएको थियो । व्यवसायलाई नियमित सरसफाइ गर्न, ढक्कन भएको फोहोरदानी प्रयोग गर्न तथा फ्रिजमा खाद्य पदार्थ व्यवस्थित रूपमा भण्डारण गर्न निर्देशन दिइएको छ ।

    त्यसैगरी, सृजना खाजा घरमा सरसफाइ कमजोर रहेको, कीट नियन्त्रण व्यवस्थित नभएको र बस्ने कोठामै खाजा तयार गर्ने गरेको पाइएको थियो । व्यवसायलाई खाद्य स्वच्छता कायम गर्न, बस्ने कोठामा खाजा तयार नगर्न तथा लेबल विवरण पूर्ण नभएका खाद्य पदार्थ बिक्री वा प्रयोग नगर्न निर्देशन दिइएको छ । पकाइने खाद्य पदार्थमा कृत्रिम रंग प्रयोग नगर्नसमेत निर्देशन दिइएको विभागले जनाएको छ ।

    यसैगरी, विभाग र खाद्य प्रविधि तथा गुण नियन्त्रण डिभिजन कार्यालय, काठमाडौंले सिंहदरबार तथा काभ्रे क्षेत्रमा समेत तीनवटा खाद्य व्यवसायको संयुक्त अनुगमन गरेको छ । किशु चमेना गृह, मनकामना आरएसजेभी र गल्फु विनायक डेरी प्रालिमा गरिएको अनुगमनका क्रममा खाद्य स्वच्छता तथा संरचनासम्बन्धी विभिन्न पक्षको निरीक्षण गरिएको थियो ।

    सिंहदरबारस्थित उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालयको चमेना गृहमा भान्सा साँघुरो रहेको, बाहिरको केही खुला भागमा खाद्य पदार्थ तयार गर्ने गरिएको, एग्जस्टको व्यवस्था प्रभावकारी नभएको तथा कीट नियन्त्रण पर्याप्त नभएको पाइएको थियो । सुधारका लागि भौतिक संरचना, सरसफाइ, एग्जस्ट र कीट नियन्त्रणको व्यवस्था प्रभावकारी बनाउन निर्देशन दिँदै सात दिनभित्र सुधारको प्रमाणसहित विभागमा उपस्थित हुन निर्देशन दिइएको छ । अर्थ मन्त्रालयको चमेना गृहमा भने सरसफाइ र कीट नियन्त्रण थप प्रभावकारी बनाउन निर्देशन दिइएको छ ।

    काभ्रेको बनेपा–१ स्थित गल्फु विनायक डेरी प्रालिमा लेबलबिनाको कच्चा पदार्थ प्रयोग गरिएको पाइएको थियो । डेरी तथा व्यक्तिगत सरसफाइ सन्तोषजनक रहेको र प्रशोधित दूधमा चिल्लो पदार्थको मात्रा ३ प्रतिशत रहेको पाइएको विभागले जनाएको छ । थप अनुसन्धानका लागि घ्यू र बटरको नमुना प्रयोगशाला परीक्षणका लागि संकलन गरिएको छ । विभागले अनुगमन गरिएका कुल सातवटा खाद्य व्यवसायलाई खाद्य स्वच्छता तथा गुणस्तरका मापदण्ड पालना गर्न निर्देशन दिएको जनाएको छ ।

    प्रतिक्रिया दिनुहोस

    सम्बन्धित समाचार

    ताजा अपडेट

    © 2026 kalikakhabar.com All right reserved Site By : Kalika Khabar