सुर्खेतमा श्रीमतीमाथि पेट्रोल छर्केर आगो लगाएको आरोपमा श्रीमान् पक्राउ

  • कालिका खवर
  • बुधबार, साउन २७, २०८३
  • सुर्खेत । सुर्खेतको भेरीगंगा नगरपालिका–१३, रामघाटमा श्रीमतीमाथि पेट्रोल छर्केर आगो लगाएको आरोपमा प्रहरीले एक जनालाई पक्राउ गरेको छ।

    प्रहरीका अनुसार मंगलबार साँझ करिब ५ बजे ४९ वर्षीय जयबहादुर रानाले आफ्नी ५० वर्षीया श्रीमती महेश्वरी रानामाथि पेट्रोल छर्केर आगो लगाएका थिए। घटनालगत्तै उनीहरूकी १८ वर्षीया छोरी पुष्पा रानाले आगो निभाएकी थिइन्।

    आगोले महेश्वरीको अनुहार, घाँटीसहित शरीरका विभिन्न भागमा असर गरेको छ। उनको शरीरको करिब ३५ देखि ३६ प्रतिशत भाग जलेको र अवस्था मध्यम रहेको चिकित्सकलाई उद्धृत गर्दै जिल्ला प्रहरी कार्यालय सुर्खेतले जनाएको छ।

    घटनापछि जयबहादुरलाई प्रहरीले नियन्त्रणमा लिएर अनुसन्धान अघि बढाएको छ। घटनाको कारण खुल्न बाँकी रहेको प्रहरीले जनाएको छ।

    घाइते महेश्वरीलाई मंगलबार साँझ उपचारका लागि प्रदेश अस्पताल सुर्खेत, कालागाउँ लगिएको थियो। प्रारम्भिक उपचारपछि थप उपचार आवश्यक देखिएपछि उनलाई नेपालगन्जस्थित भेरी अस्पतालमा रिफर गरिएको जिल्ला प्रहरी कार्यालय सुर्खेतका सूचना अधिकारी प्रहरी निरीक्षक कविन्द्रसिंह बोहराले जानकारी दिए।

    प्रहरीका अनुसार घटनाबारे थप अनुसन्धान भइरहेको छ।

    प्रतिक्रिया दिनुहोस

    सम्बन्धित समाचार

    ताजा अपडेट

    © 2026 kalikakhabar.com All right reserved Site By : Kalika Khabar