खाद्य विभागको वार्षिक प्रगति : ३ हजार ३६५ नमुना संकलन, १२७ वटा प्रतिकूल

  • कालिका खवर
  • आइतवार, साउन २४, २०८३
  • काठमाडौं । खाद्य प्रविधि तथा गुण नियन्त्रण विभागले आर्थिक वर्ष २०८२/८३ मा खाद्य स्वच्छता तथा गुणस्तर नियमनका क्रममा देशभरबाट ३ हजार ३६५ वटा नमुना संकलन गरेको जनाएको छ। तीमध्ये २ हजार ९४८ वटा नमुनाको विश्लेषण परीक्षण गर्दा १२७ वटा नमुना प्रतिकूल पाइएको विभागको वार्षिक प्रगति विवरणमा उल्लेख छ।

    विभागका अनुसार परीक्षण गरिएका प्रतिकूल नमुनामध्ये खाद्यान्न तथा दलहनका ४७, तेल तथा घ्यूजन्य पदार्थका ९, प्रशोधित पिउने पानीका २१, मसला ७, दूध तथा दुग्ध पदार्थ १७, फलफूल तथा सागपातजन्य पदार्थ १०, चिया/कफी १, गुलियो पदार्थ २, कन्फेक्सनरी ३ र दाना पदार्थका १० नमुना रहेका छन्। प्रतिकूल नमुना कुल परीक्षणको करिब ४.३० प्रतिशत हो।

    खाद्य स्वच्छता तथा गुणस्तर ऐन, २०८१ अनुसार न्यूनस्तर तथा दूषित खाद्य तथा दाना पदार्थ उत्पादन तथा बिक्री वितरण गर्ने १४२ व्यवसायीविरुद्ध विभिन्न जिल्ला प्रशासन कार्यालय तथा जिल्ला अदालतमा मुद्दा दायर गरिएको विभागले जनाएको छ। तीमध्ये ७३ मुद्दा न्यून गुणस्तरयुक्त खाद्य पदार्थ, ३२ दूषित खाद्य पदार्थ, १२ ऐन/नियम निर्देशिका उल्लंघन र २५ लेबलसम्बन्धी रहेका छन्।

    विभाग तथा मातहतका कार्यालयले उपभोक्ताको गुनासो, बजार अनुगमन तथा नियमित निरीक्षणका क्रममा १२ हजार ५०६ पटक निरीक्षण तथा अनुगमन गरेको जनाएको छ। यस अवधिमा उपभोग्य मिति समाप्त भएका, पूर्ण लेबल विवरण नभएका तथा खाद्य अनुमतिपत्र नलिएका गरी करिब रु. ६ लाख ३१ हजार ६०१ बराबरका खाद्य पदार्थ जफत तथा नष्ट गरिएको विवरणमा उल्लेख छ।

    त्यस्तै, मोबाइल खाद्य प्रयोगशालामार्फत पनि देशका विभिन्न स्थानमा अनुगमन तथा नमुना परीक्षणलाई तीव्रता दिइएको छ। विभाग र मातहतका कार्यालयबाट सञ्चालन गरिएका मोबाइल प्रयोगशालामार्फत १२३ पटक अनुगमन निरीक्षण गरी नमुना परीक्षण गरिएको थियो। कैफियत देखिएका नमुना तथा व्यवसायमा तत्काल सुधारका लागि निर्देशन दिइएको र आवश्यकताअनुसार मुद्दासमेत दायर गरिएको विभागले जनाएको छ।

    उद्योग नियमनतर्फ आर्थिक वर्षमा ७३२ वटा खाद्य उद्योगको अनुमतिपत्र जारी, १ हजार ६३१ उद्योगको अनुमतिपत्र नवीकरण तथा १ हजार ६३४ वटा खाद्य उद्योग स्थापना गर्न सिफारिस गरिएको छ। यसरी कुल ४ हजार २४७ वटा उद्योगसम्बन्धी अनुमति, नवीकरण तथा दर्ता सिफारिसको काम सम्पन्न भएको विभागले जनाएको छ। डिजिटल सेवातर्फ ‘NeFFILS’ प्रणालीमार्फत खाद्य उद्योगको सिफारिस, अनुमतिपत्र तथा नवीकरण प्रक्रियालाई अनलाइनमा लैजाने कामसमेत अघि बढाइएको छ।

    खाद्य स्वच्छता र गुणस्तर प्रवर्द्धनअन्तर्गत विभागले होटल तथा रेष्टुरेन्टको स्तरीकरण, खाद्य स्वच्छता तालिम, उपभोक्ता सचेतना, प्रयोगशाला परीक्षण तथा आयात–निर्यात नियमनलाई समेत प्राथमिकता दिएको छ। विभागका अनुसार आर्थिक वर्षमा ४२२ वटा होटल तथा रेष्टुरेन्टको स्तरीकरण गरी लोगो वितरण गरिएको छ। साथै, विभिन्न खाद्य पदार्थको आयातका क्रममा प्राप्त नमुना परीक्षण, निर्यातका लागि Certificate of Analysis तथा स्वास्थ्य/गुणस्तर प्रमाणपत्र जारी गर्ने कामसमेत गरिएको छ।

    विभागले खाद्य पदार्थमा औद्योगिक ट्रान्स फ्याट, रासायनिक प्रदूषक, विषादी अवशेष तथा सूक्ष्मजीव परीक्षणको क्षमता विस्तार गरेको जनाएको छ। तरकारी तथा फलफूलमा विषादी अवशेष परीक्षणका क्रममा केही नमुनामा विषादी देखिए पनि तोकिएको मापदण्डअनुकूल रहेको विभागको विवरणमा उल्लेख छ। विभागले आगामी दिनमा पनि खाद्य स्वच्छता तथा गुणस्तर नियमन, बजार अनुगमन र उपभोक्ता सचेतनालाई थप प्रभावकारी बनाउने जनाएको छ।

    प्रतिक्रिया दिनुहोस

    सम्बन्धित समाचार

    ताजा अपडेट

    © 2026 kalikakhabar.com All right reserved Site By : Kalika Khabar