पोखरामा आज १० हजार ग्यास वितरण हुँदै

  • कालिका खवर
  • आइतवार, साउन २४, २०८३
  • पोखरा : पोखरामा आज मात्रै १० हजार सिलिन्डर ग्यास वितरण हुँदैछ । जिल्ला प्रशासन कार्यालय कास्कीले लाइन बढेको भन्दै शुक्रबारदेखि नै किराना पसलबाटै ग्यास बिक्री गर्ने निर्णय गरिसकेको छ ।

    जिल्ला अनुगमन समिति कास्कीले गगनगौंडाका २ ग्यास कम्पनीमा अनुगमन गरेर आपूर्तिबारे जानकारी दिएको छ । कम्पनीहरूको विवरण अनुसार १० हजार सिलिन्डर पोखराका बजारमा पुग्ने सहायक प्रमुख जिल्ला अधिकारीद्वय चित्राङ्गत बरालले जानकारी दिए ।

    गृहलक्ष्मी ग्यासका ३ हजारभन्दा बढी सिलिन्डर पोखरा बजारमा बिक्रीका लागि पठाउने तयारी गरेको छ भने शक्ति ग्यास कम्पनीले २ हजार ५ सय भरि सिलिन्डर पठाउन लागेको छ । पोखरा बाहिरका ग्यास उद्योगहरूमध्ये बाबाले १ हजारभन्दा बढी, जानकी र नेपाल ग्यासले पनि १ हजारभन्दा बढी ग्यास पोखरा भित्र्याउने बरालले जानकारी दिए ।

    सोमबारका लागि पनि गृहलक्ष्मीमा ४ वटा बुलेटमा ग्यास भारतबाट हिँडिसकेको र आइतबार बेलुका यहाँ आइपुग्ने कम्पनीले जनाएको छ । पोखराका पहिले जसरी किराना पसलहरूबाट नै उपभोक्तालाई ग्यास बिक्री वितरण गर्ने व्यवस्था मिलाएपछि सहजता बढेको प्रशासनले जनाएको छ ।

    पोखरामा साउन पहिलो सातादेखि खाना पकाउने एलपी ग्यासको अभाव हुँदै आएको थियो । जसका कारण उपभोक्ता रित्तो सिलिन्डर बोकेर ग्यास डिपो अगाडि घण्टौँसम्म कुनुपर्ने बाध्यतामा छन् । प्रशासनले ग्यासको सहज आपूर्ति र कालोबजारी हुन नदिन अनुगमनलाई तीव्र पारिरहेको छ ।

    प्रतिक्रिया दिनुहोस

    सम्बन्धित समाचार

    © 2026 kalikakhabar.com All right reserved Site By : Kalika Khabar