काठमाडौँ उपत्यकासहित १८ जिल्लामा आकस्मिक बाढीको खतरा

  • कालिका खवर
  • शुक्रबार, साउन २२, २०८३
  • काठमाडौँ ।  जल तथा मौसम विज्ञान विभागअन्तर्गतको बाढी पूर्वानुमान महाशाखाले आज देशका मुख्य नदीहरूमा पानीको बहाव सामान्य रहेको जनाएको छ।

    महाशाखाले बिहान ८ बजे जारी गरेको बुलेटिन अनुसार कोशी, नारायणी, बागमती, कर्णाली र महाकाली नदीमा पानीको सतह सतर्कता तहभन्दा तलै छ। त्यसैगरी कन्काई, कमला, बबई, पूर्वी राप्ती र पश्चिम राप्तीसहित मुख्य नदीका सहायक नदीहरूमा पनि बहाव सामान्य अवस्थामै रहेको छ।

    मुख्य नदीहरूमा ठुलो बाढीको जोखिम नदेखिए पनि पहाडी तथा उपत्यकाका साना नदीहरूमा भने आकस्मिक बाढी आउन सक्ने महाशाखाले जनाएको छ। आज संखुवासभा, सोलुखुम्बु, दोलखा, रामेछाप, सिन्धुपाल्चोक, काभ्रेपलाञ्चोक, नुवाकोट, रसुवा र धादिङ भई बहने साना नदीहरूमा पानीको बहाव उल्लेख्य बढ्ने सम्भावना छ।

    यस्तै काठमाडौँ, भक्तपुर, ललितपुर, गोरखा, लमजुङ, डोल्पा, रुकुम पश्चिम र जाजरकोट आसपासका जिल्लाका साना नदीहरूमा पनि आकस्मिक बाढीको मध्यम जोखिम रहेको छ।

    आगामी दुई दिन पनि साना नदीहरूमा बाढीको जोखिम कायमै रहने महाशाखाको पूर्वानुमान छ। भोलि र पर्सी सातै प्रदेशका केही साना नदीहरूमा बहाव अचानक बढ्न सक्ने सम्भावना रहेको छ। तटीय र साना नदी आसपासका क्षेत्रमा बसोबास गर्ने बासिन्दालाई सतर्कता अपनाउन महाशाखाले आग्रह गरेको छ।

    प्रतिक्रिया दिनुहोस

    सम्बन्धित समाचार

    ताजा अपडेट

    © 2026 kalikakhabar.com All right reserved Site By : Kalika Khabar