पुतलीसडकका दुइ होस्टल र म:म पसललाई खाद्य बिभागको कार्वाही

  • कालिका खवर
  • बुधबार, साउन २०, २०८३
  • काठमाडौं । खाद्य प्रविधि तथा गुण नियन्त्रण विभाग र काठमाडौं महानगरपालिका को संयुक्त बजार अनुगमन टोलीले प्राप्त गुनासोका आधारमा साउन १९ गते काठमाडौंका तीन खाद्य व्यवसायमा आकस्मिक अनुगमन गरी खाद्य स्वच्छता तथा गुणस्तर ऐन, २०८१ अनुसार निर्देशन तथा कारबाही गरेको छ।
    अनुगमनका क्रममा काठमाडौं महानगरपालिका–२९ पुतलीसडकस्थित थकाली गर्ल होस्टेल को भान्सा साँघुरो, सरसफाइ असन्तोषजनक, साङ्लाको प्रकोप रहेको, एक्जस्टको व्यवस्था कमजोर तथा अनावश्यक सामग्री भण्डारण गरिएको पाइएको विभागले जनाएको छ। उजुरीमा उल्लेख भएअनुसार खानामा किरा वा मरेको साङ्ला भने फेला नपरेको विभागको भनाइ छ।

    विभागले होस्टेलको भान्सा तत्कालका लागि बन्द गरी काठमाडौं महानगरपालिकाको निगरानीमा आवश्यक सुधार गर्न निर्देशन दिएको छ। साथै सरसफाइ र कीट नियन्त्रण प्रभावकारी बनाउन तथा थप अनुसन्धान महानगरपालिकाले अघि बढाउने जनाएको छ।
    त्यस्तै, पुतलीसडकस्थित मरिगोल्ड गर्ल होस्टेल मा सरसफाइ सन्तोषजनक रहेको, खानामा किरा तथा भान्सामा कीट संक्रमण नदेखिएको भए पनि खाद्य स्वच्छता कायम राख्न, कीट नियन्त्रण थप प्रभावकारी बनाउन र फ्रिजमा खाद्य पदार्थ उचित तापक्रममा भण्डारण गरी समयमै प्रयोग गर्न निर्देशन दिइएको छ।

    यस्तै, काठमाडौं–२२ न्युरोडस्थित शिखर मःम सेन्टर मा खाद्य पदार्थ तार्न प्रयोग गरिएको तेलको TPM Value ३०.५ प्रतिशत भई मापदण्डविपरीत रहेको तथा उपभोग्य मिति सकिएका १३ थान २५० मिलिलिटरका 7UP, Mirinda र Dew लगायतका हल्का पेय पदार्थ फेला परेको विभागले जनाएको छ।

    अनुगमन टोलीले म्याद सकिएका पेय पदार्थ र मापदण्डविपरीत रहेको तेल नष्ट गरेको छ। साथै सरसफाइ सुधार गर्न, कृत्रिम खाद्य रंगको व्यवस्थित प्रयोग गर्न र कीट नियन्त्रण प्रभावकारी बनाउन निर्देशन दिइएको छ। यस सम्बन्धमा थप अनुसन्धान काठमाडौं महानगरपालिकाले अघि बढाउने विभागले जनाएको छ।
    विभागका वरिष्ठ खाद्य अनुसन्धान अधिकृत डा. बाल कुमारी शर्माद्वारा जारी विवरणअनुसार यस पटक काठमाडौंका तीन वटा खाद्य व्यवसाय मा संयुक्त अनुगमन गरिएको हो।

    प्रतिक्रिया दिनुहोस

    सम्बन्धित समाचार

    ताजा अपडेट

    © 2026 kalikakhabar.com All right reserved Site By : Kalika Khabar