न्यून गुणस्तरको ४ हजार लिटर दूध नष्ट, दुई खाद्य उद्योगमा विभागको अनुगमन

  • कालिका खवर
  • सोमवार, साउन १८, २०८३
  • काठमाडौं । खाद्य प्रविधि तथा गुण नियन्त्रण विभागले प्राप्त उजुरीका आधारमा मिति २०८३ साउन १५ गते काठमाडौं र भक्तपुरका दुई खाद्य उद्योगमा संयुक्त निरीक्षण तथा अनुगमन गरी आवश्यक कारबाही गरेको छ।

    विभागका अनुसार कागेश्वरी मनोहरा–७ स्थित ए वान पोलीमर एण्ड वेभेरेज प्रा.लि. मा अनुगमनका क्रममा उद्योगको टायल टुटेको, बाहिरी वातावरण अव्यवस्थित रहेको तथा सरसफाइ सामान्य अवस्थामा रहेको पाइएको थियो। उद्योगलाई नियमित सरसफाइ कायम गर्न, व्यक्तिगत सरसफाइमा विशेष ध्यान दिन निर्देशन दिइएको छ। साथै थप अनुसन्धानका लागि प्रयोगशाला परीक्षणार्थ नमुना समेत संकलन गरिएको विभागले जनाएको छ।

    त्यसैगरी, भक्तपुर–८ लिवालीस्थित जय शम्भु डेरी उद्योग प्रा.लि. मा गरिएको अनुगमनका क्रममा सरसफाइ सामान्य रहेको र दही चिस्यानमा भण्डारण गरिएको पाइएको थियो। परीक्षणका लागि संकलन गरिएको दूधको नमुना विभागको प्रयोगशालामा परीक्षण गर्दा फ्याट २.४ प्रतिशत र एसएनएफ ७.८ प्रतिशत मात्र भेटिएकाले दूध न्यून गुणस्तरको रहेको पुष्टि भएको विभागले जनाएको छ।

    विभागका अनुसार उक्त उद्योगको ४ हजार लिटर दूध रोक्का गरी स्थानीय जनप्रतिनिधिको रोहबरमा नष्ट गरिएको छ।

    खाद्य प्रविधि तथा गुण नियन्त्रण विभागले उपभोक्तालाई सुरक्षित र गुणस्तरीय खाद्य सामग्री उपलब्ध गराउने उद्देश्यले नियमित अनुगमनलाई निरन्तरता दिइने जनाएको छ। विभागले खाद्य व्यवसायीलाई खाद्य स्वच्छता तथा गुणस्तरसम्बन्धी मापदण्ड कडाइका साथ पालना गर्न पनि आग्रह गरेको छ।

    उक्त विवरण विभागका वरिष्ठ खाद्य अनुसन्धान अधिकृत डा. बालकुमारी शर्माले २०८३ साउन १८ गते सार्वजनिक गर्नुभएको हो।

    Press-note-2083-04-15-Rokka-nasta

    प्रतिक्रिया दिनुहोस

    सम्बन्धित समाचार

    ताजा अपडेट

    © 2026 kalikakhabar.com All right reserved Site By : Kalika Khabar