राष्ट्रिय कोदो दिवस : रैथाने बालीको उत्पादन र बजारीकरण विस्तारमा मूल्य शृङ्खला सुदृढ गर्न जोड

  • कालिका खवर
  • आइतवार, साउन १७, २०८३
  • काठमाडौं । रैथाने बाली कोदोको संरक्षण, उत्पादन वृद्धि, मूल्य अभिवृद्धि र बजारीकरणलाई प्रभावकारी बनाउन मूल्य शृङ्खला सुदृढ गर्नुपर्नेमा सरोकारवालाले जोड दिएका छन्।

    दोस्रो राष्ट्रिय कोदो दिवस–२०८३ को अवसरमा शनिबार सिन्धुपाल्चोकको सुनकोशी गाउँपालिका–२, ठोकर्पामा आयोजित कार्यक्रममा वक्ताहरूले कोदोको बढ्दो महत्वलाई दृष्टिगत गर्दै उत्पादन, प्रशोधन र बजार विस्तारका लागि राज्य, निजी क्षेत्र, सहकारी तथा किसानबीच प्रभावकारी सहकार्य आवश्यक रहेको बताएका हुन्।

    कोदो बाली संरक्षण र प्रवर्द्धन, खाद्य तथा पोषण सुरक्षा संवर्द्धन’ भन्ने मूल नारासहित आयोजित कार्यक्रममा कृषि, वन तथा वातावरण मन्त्रालय, कृषि विभाग, बाली विकास तथा कृषि जैविक विविधता संरक्षण केन्द्र, नेपाल कृषि अनुसन्धान परिषद् (नार्क), लिबर्ड नेपाल, खाद्य तथा कृषि संगठन (एफएओ) नेपाल तथा एसोसिएसन अफ नेपाली एग्रिकल्चरल जर्नालिस्ट्स (अनाज)को संयुक्त आयोजना रहेको थियो।

    कार्यक्रमका अध्यक्ष तथा कृषि विभागका महानिर्देशक प्रकाशकुमार सञ्जेलले कोदो उत्पादन र मूल्य शृङ्खला निर्माणमा योगदान पुर्‍याएका किसानलाई धन्यवाद दिँदै किसानका समस्या समाधानका लागि संघ, प्रदेश र स्थानीय सरकारबीच समन्वयात्मक रूपमा काम भइरहेको बताए। उनले विद्यालयको दिवा खाजामा स्थानीय स्तरमा उत्पादन हुने रैथाने खाद्यान्न समावेश गर्न स्थानीय तहलाई आग्रह गर्दै यसले किसानलाई सुनिश्चित बजार र स्थानीय अर्थतन्त्रलाई बलियो बनाउने बताए।

    कृषि, वन तथा वातावरण मन्त्रालयका सहसचिव रामकृष्ण श्रेष्ठले कोदोको उत्पादनसँगै उपभोग र माग निरन्तर बढिरहेको उल्लेख गर्दै सरकारले २०८२ सालदेखि राष्ट्रिय कोदो दिवस मनाउने निर्णय गरेपछि यसको प्रवर्द्धनमा थप ऊर्जा मिलेको बताए। उनले कोदो उत्पादन विस्तारले किसानको आम्दानी वृद्धि र ग्रामीण अर्थतन्त्र सुदृढ बनाउन महत्वपूर्ण भूमिका खेल्ने धारणा राखे।

    एफएओ नेपालका कार्यक्रम विशेषज्ञ महेश बडालले कोदोलाई राष्ट्रिय प्राथमिकतामा राख्नु सकारात्मक कदम भएको बताउँदै यसको दीगो विकासका लागि प्रभावकारी नीति, अनुसन्धान र मूल्य शृङ्खला विकास आवश्यक रहेको बताए। उनका अनुसार नार्कले उन्नत बीउको अनुसन्धान तथा संरक्षण गरिरहेको छ भने सहकारी र निजी क्षेत्रले पनि यसको प्रवर्द्धनमा महत्वपूर्ण योगदान पुर्‍याइरहेका छन्।

    बाली विकास तथा कृषि जैविक विविधता संरक्षण केन्द्रका प्रमुख केशव भट्टराईले गाउँमा उत्पादन घटे पनि सहरी क्षेत्रमा कोदोको माग बढ्दै गएको र त्यससँगै आयातसमेत वृद्धि भएको बताए। उनले राष्ट्रिय जीन बैंकमार्फत स्थानीय जातहरूको संरक्षण भइरहेको जानकारी दिँदै उत्पादन वृद्धि गर्न यान्त्रिकीकरण र आधुनिक कृषि प्रविधिमा जोड दिनुपर्ने बताए।

    चौरिदेउराली गाउँपालिका, काभ्रेपलान्चोकमा पनि विशेष कार्यक्रम

    दोस्रो राष्ट्रिय कोदो दिवसको अवसरमा काभ्रेको चौरिदेउराली गाउँपालिकामा जिल्ला कृषि विकास कार्यालय, चौरिदेउराली गाउँपालिका, खाद्यका लागि कृषि अभियान तथा अनाजको संयुक्त आयोजनामा विशेष कार्यक्रम सम्पन्न भएको छ।

    कार्यक्रममा कोदो संरक्षण, स्थानीय जातको प्रवर्द्धन तथा उत्पादन र उत्पादकत्व वृद्धि गर्दै स्थानीय अर्थतन्त्र सुदृढ बनाउने विषयमा छलफल गरिएको थियो। सहभागीहरूले प्रतीकात्मक रूपमा कोदो रोपेर रैथाने बाली संरक्षणको सन्देश दिएका थिए।

    उत्पादन बढे पनि आयात घटेन

    कृषि, वन तथा वातावरण मन्त्रालयका अनुसार आर्थिक वर्ष २०८१/८२ मा नेपालमा २ लाख १४ हजार ४७७ हेक्टर क्षेत्रफलमा कोदो खेती भई २ लाख ८४ हजार ३५२ मेट्रिक टन उत्पादन भएको छ। औसत उत्पादकत्व १.३३ मेट्रिक टन प्रतिहेक्टर रहेको छ।

    भन्सार विभागको तथ्याङ्कअनुसार आर्थिक वर्ष २०८२/८३ मा करिब ६२ करोड २८ लाख रुपैयाँ बराबरको कोदोजन्य बाली तथा बीउ आयात भएको छ भने निर्यात भने १३ लाख २५ हजार रुपैयाँ बराबर मात्र रहेको छ। यसले स्वदेशी उत्पादन बढाएर आयात प्रतिस्थापन गर्नुपर्ने आवश्यकता स्पष्ट भएको सरोकारवालाहरूले बताएका छन्।

    पोषणका दृष्टिले कोदो प्रोटिन, फाइबर, आइरन, क्याल्सियम, म्याग्नेसियमलगायत पोषक तत्वको महत्वपूर्ण स्रोत मानिन्छ। विज्ञहरूले कोदोबाट रोटी, ढिँडो र सातुका साथै केक, ब्रेड, कुकिज, चाउमिन, पिज्जा र अन्य आधुनिक परिकार उत्पादन गरी बजार विस्तार गर्न सकिने बताएका छन्। उनीहरूका अनुसार रैथाने बालीलाई पर्यटन, होटल तथा होमस्टेसँग जोडेर नयाँ बजार सिर्जना गर्न सकिने सम्भावना पनि उच्च रहेको छ।

    प्रतिक्रिया दिनुहोस

    सम्बन्धित समाचार

    ताजा अपडेट

    © 2026 kalikakhabar.com All right reserved Site By : Kalika Khabar