मिड–भ्याली इन्टरनेसनल कलेजको ‘बिल्ड नेपाल ह्याकाथन’ आजदेखि सुरु,एआईदेखि रोबोटिक्ससम्मका प्रविधिमा प्रतिस्पर्धा

  • कालिका खवर
  • शनिबार, साउन १६, २०८३
  • काठमाडौं । मिड–भ्याली इन्टरनेसनल कलेजले आयोजना गरेको दुईदिने ‘बिल्ड नेपाल ह्याकाथन’ आजदेखि काठमाडौंमा सुरु भएको छ। ‘Build Today, Transform Tomorrow’ नारासहित आयोजना गरिएको ह्याकाथन अगस्ट १ र २ सम्म सञ्चालन हुनेछ। युवाको नेतृत्वमा डिजिटल नवप्रवर्तनलाई प्रवर्द्धन गर्ने उद्देश्यले आयोजित ह्याकाथनमा २१ वटा बहुविषयगत टोलीमा विभाजित ६० भन्दा बढी युवा सहभागी छन्।

    १६ देखि २४ वर्ष उमेर समूहका युवालाई लक्षित कार्यक्रममा सहभागीहरूले कृत्रिम बौद्धिकता (एआई), इन्टरनेट अफ थिङ्स (आईओटी), रोबोटिक्स तथा क्लाउड कम्प्युटिङ जस्ता अत्याधुनिक प्रविधिको प्रयोग गरी नेपालका वास्तविक समस्या समाधान गर्ने कार्यात्मक नमुना (प्रोटोटाइप) विकास गर्नेछन्। प्रतियोगिता स्मार्ट सिटी, स्मार्ट कृषि, शिक्षा तथा सिकाइ, पर्यटन तथा सम्पदा, साइबर सुरक्षा र डिजिटल अर्थतन्त्र गरी छवटा विषयगत क्षेत्रमा केन्द्रित रहेको आयोजकले जनाएको छ।

    कार्यक्रम अवधिभर सूचना प्रविधि क्षेत्रका आठ जना अनुभवी विज्ञ तथा मेन्टरले सहभागी टोलीलाई प्रत्यक्ष मार्गदर्शन गर्नेछन्। प्रोशोर, पिनाकिन टेक्नोलोजिज, जेनेसेलगायतका आईटी कम्पनीका विशेषज्ञहरूले प्राविधिक तथा व्यावहारिक सहयोग प्रदान गर्ने व्यवस्था गरिएको छ। मिड–भ्याली इन्टरनेसनल कलेजका ब्याचलर अफ इन्फर्मेसन टेक्नोलोजी कार्यक्रमका प्रबन्धक सुदीपलाल बजिमयाले सैद्धान्तिक ज्ञानलाई व्यावहारिक प्रयोगसँग जोड्नु नै ह्याकाथनको प्रमुख उद्देश्य रहेको बताउनुभयो। उहाँले आगामी दशकमा नेपालको विकासमा युवा नवप्रवर्तकको भूमिका महत्वपूर्ण रहने उल्लेख गर्दै उद्योगका अनुभवी विज्ञसँगको सहकार्यले युवालाई देशका वास्तविक चुनौती समाधान गर्ने प्रविधिमैत्री सोच विकास गर्न प्रेरित गर्ने विश्वास व्यक्त गर्नुभयो।

    ह्याकाथनको अन्तिम दिन सहभागी टोलीहरूले आफूले विकास गरेका न्यूनतम व्यवहार्य उत्पादन (एमभीपी) निर्णायकमण्डलसमक्ष प्रस्तुत गर्नेछन्। प्रस्तुतिको मूल्याङ्कन टेक उद्यमी तथा सिटीटेकका संस्थापक साजन शर्मा, बीएलसी ग्लोबल होल्डिङ्स प्रालिका प्रबन्ध निर्देशक तथा ग्लोबल इक्विटी फन्डका अध्यक्ष मनिष खेम्का, तथा आईएमई खल्ती लिमिटेडका सहसंस्थापक एवं निर्देशक अमित अग्रवालले गर्नेछन्।

    प्रतियोगितामा ७५ हजार रुपैयाँभन्दा बढीको पुरस्कार राशि राखिएको छ। कार्यक्रममा अल्फा बिटा, जेनेसे, भायानेट, दामी एक्सपिरियन्स, पिनाकिन टेक्नोलोजी र प्रोशोर नेपाल प्रालिलगायत विभिन्न संस्था तथा प्रविधि क्षेत्रका साझेदारको सहयोग रहेको छ।

    आयोजकका अनुसार ह्याकाथनका गतिविधि र सहभागी टोलीको प्रगति सामाजिक सञ्जालमार्फत नियमित सार्वजनिक गरिनेछ भने विजेताको घोषणा आइतबार साँझ गरिनेछ।

    काठमाडौंको ज्ञानेश्वरस्थित मिड–भ्याली इन्टरनेसनल कलेजले सूचना प्रविधि, व्यवस्थापन तथा हस्पिटालिटी विषयमा स्नातक तहका कार्यक्रम सञ्चालन गर्दै आएको छ। कलेजले व्यावहारिक, उद्योगमैत्री तथा नवप्रवर्तनमुखी शिक्षामार्फत दक्ष जनशक्ति उत्पादन गर्ने लक्ष्यका साथ यस्ता कार्यक्रमलाई निरन्तरता दिँदै आएको जनाएको छ।

    प्रतिक्रिया दिनुहोस

    सम्बन्धित समाचार

    ताजा अपडेट

    © 2026 kalikakhabar.com All right reserved Site By : Kalika Khabar