सुनसरी घटनाको निष्पक्ष छानबिनको माग गर्दै सिरहामा प्रदर्शन, प्रधानमन्त्री र गृहमन्त्रीको राजीनामा माग

  • कालिका खवर
  • मङ्लबार, साउन १२, २०८३
  • सिरहा। सुनसरीको देवानगञ्ज गाउँपालिका–३ कप्तानगञ्जमा प्रहरीको गोली लागेर मृत्यु भएको घटनाको विरोधमा सिरहाको गोलबजार नगरपालिका–८ पुरानो चोक चोहर्वामा स्थानीयले प्रदर्शन गरेका छन्। घटनाको निष्पक्ष छानबिनको माग गर्दै स्थानीयहरूले पूर्व–पश्चिम राजमार्ग अवरुद्ध गरेर प्रदर्शन गरेका हुन्।

    प्रदर्शनका क्रममा उनीहरूले प्रधानमन्त्री बालेन शाह र गृहमन्त्रीको राजीनामा समेत माग गरेका थिए। सुनसरीमा सरकारले नै युवाको हत्या गरेको आरोप लगाउँदै उनीहरूले गोली चलाउनेमाथि कारबाही गर्नुपर्ने र प्रहरी दमन बन्द गर्नुपर्ने माग राखेका छन्।

    त्यसैगरी धनगढीमाई नगरपालिकाको कसहामा पनि स्थानीयले बाटो अवरुद्ध गरेको जिल्ला प्रहरी कार्यालय सिरहाले जनाएको छ। जिल्ला प्रहरी कार्यालय सिरहाका प्रहरी उपरीक्षक (एसपी) बासुदेव पाठकका अनुसार आन्दोलनकारीले करिब आधा घण्टा सडक अवरुद्ध गराएका थिए।

    प्रदर्शनकारीसँगको छलफलपछि सडक सञ्चालनमा आइसकेको प्रहरीले जनाएको छ। सुनसरीको देवानगञ्ज–३ कप्तानगञ्जमा दुई समूहबीच भएको झडप नियन्त्रण गर्ने क्रममा प्रहरीको गोली लागेर देवानगञ्ज–३ का २४ वर्षीय ओमप्रकाश मेहताको मृत्यु भएको थियो।

    सोही विषयलाई लिएर सुनसरीलगायत विभिन्न ठाउँमा प्रदर्शन भएको हो। कुनै पनि सवारी साधनमा तोडफोड नहोस् भनेर सिरहा प्रहरीले सिरहाका विभिन्न राजमार्गका ठाउँ–ठाउँमा प्रहरी परिचालन गरेको जिल्ला प्रहरी कार्यालय सिरहाले जनाएको छ।

    प्रतिक्रिया दिनुहोस

    सम्बन्धित समाचार

    ताजा अपडेट

    © 2026 kalikakhabar.com All right reserved Site By : Kalika Khabar