निर्धारित समयअगावै रिखुवा खोलामा पक्की पुल निर्माण

  • कालिका खवर
  • बिहिबार, असार ३२, २०८३
  • काठमाडौँ : इलामको माई नगरपालिका र माङसेबुङ गाउँपालिकालाई जोड्ने आत्मानन्द मार्गअन्तर्गत माई–६ स्थित रिखुवा खोलामा निर्माणाधीन पक्की पुल निर्धारित समयअघि नै सम्पन्न भएको छ।

    पुल सञ्चालनमा आएपछि दुई स्थानीय तहका नागरिकको आवागमन सहज र सुरक्षित बनेको छ। सङ्घीय सरकारअन्तर्गत पुल सेक्टर धरानको करिब रु. ३० करोड ६४ लाख ८४ हजार लागतमा निर्माण सम्पन्न भएको उक्त पुल शान्ति निर्माण सेवाले सम्झौताअनुसार तोकिएको समयभन्दा अगावै निर्माण सम्पन्न गरेको आयोजना प्रमुख इन्जिनियर आशिष थापा मगरले जानकारी दिए।

    ३३ करोड ९८ लाख २२ हजार ५८९ को लागत अनुमानमा ठेक्का आह्वान गरिएको आयोजना निर्माण कम्पनीसँग रु. ३० करोड ६४ लाख ८४ हजारमा सम्झौता भएको थियो। २०७९ पुस ३० गते भएको सम्झौताअनुसार २०८३ असार ३० गतेभित्र निर्माण सम्पन्न गर्नुपर्ने भए पनि कम्पनीले निर्धारित समयअघि नै पुल निर्माण पूरा गरेको हो।

    आयोजना प्रमुख मगरले अन्य धेरै पूर्वाधार आयोजनामा पटक–पटक म्याद थपिए पनि काम सम्पन्न नहुने गुनासो भइरहेका बेला यो आयोजना समयमै सम्पन्न हुनु सकारात्मक उदाहरण बनेको बताए। पुल सेक्टरका इन्जिनियर हरि मण्डलका अनुसार २०० मिटर लम्बाइ र ११ मिटर चौडाइको पक्की पुल निर्माण सम्पन्न भई सञ्चालनमा आइसकेको छ।

    पुल निर्माणअघि वर्षायाममा रिखुवा खोलामा बाढी आउँदा आवतजावत पूर्ण रूपमा अवरुद्ध हुने गरेको थियो। विशेषगरी बिरामी, गर्भवती महिला तथा विद्यार्थीलाई आवतजावत गर्न निकै कठिनाइ हुने गरेको स्थानीयवासीले बताएका छन्।

    स्थानीय बुधराज योङहाङका अनुसार पुल सञ्चालनमा आएपछि वर्षौंदेखिको आवागमन समस्या अन्त्य भएको छ। “पहिले पानी परेपछि खोला वारपार गर्न निकै सास्ती हुन्थ्यो, अहिले पुल बनेपछि त्यो समस्या सधैंका लागि हटेको छ,” उनले भने।

    माई नगरपालिकाका प्रमुख खम्बासिंह लिम्बूले पुल सञ्चालनमा आएसँगै माङसेबुङ गाउँपालिकाका नागरिकलाई झापाको बिर्तामोड, माई नगरपालिका तथा धार्मिकस्थल लारुम्बासम्म पुग्न सहज भएको बताए। पुल निर्माणले स्थानीय आर्थिक गतिविधि, पर्यटन तथा धार्मिक यात्रामा समेत सकारात्मक प्रभाव पर्ने अपेक्षा गरिएको छ।

    प्रतिक्रिया दिनुहोस

    सम्बन्धित समाचार

    ताजा अपडेट

    © 2026 kalikakhabar.com All right reserved Site By : Kalika Khabar